जनता टाइम्स

२६ बैशाख २०८०, मंगलवार १७:०६

मार्क्सका चार विचार, जुन आज पनि जीवित छन्


एजेन्सी, २६ वैशाख । के मार्क्सका विचार आज पनि सान्दर्भिक छन् ? जर्मन दार्शनिक कार्ल मार्क्सले उन्नाइसौं शताब्दीमा धेरै पुस्तक लेखे तर उनका दुई कृति विवादमुक्त र सर्वग्राह्य छन् । ती कृतिमा ‘कम्युनिस्ट घोषणापत्र’ र ‘दास क्यापिटल’ले कुनै बेला विश्वका धेरै देश र करोडौं जनतामा राजनीतिक र आर्थिक रूपमा निर्णायक प्रभाव पारेको थियो ।

रुसी क्रान्ति पछि सोभियत संघको उदय यसको उदाहरण हो । २० औं शताब्दीको इतिहासमा समाजवादी क्याम्पले ठूलो प्रभाव पारेको छ भन्ने कुरालाई कसैले नकार्न सक्दैन। तर, मार्क्स र एंगेल्सले लेखेझैं साम्यवाद कार्यान्वयन अझै हुन सकेन । अन्ततः, समाजवादी शिविर पछिहट्न वाध्य भयो र पुँजीवादले लगभग सम्पूर्ण विश्वलाई ढाक्यो । कम्युनिज्म असफल भएजस्तो देखिए पनि आज पनि सान्दर्भिक रहेका मार्क्सका यी चारवटा विचार आज पनि उत्तिकै सान्दर्भिक छन् ः

१– राजनीतिक कार्यक्रम
‘कम्युनिस्ट घोषणापत्र’ र उनका अन्य लेखहरूमा मार्क्सले पुँजीवादी समाजमा हुने ‘वर्गसंघर्ष’को बारेमा कुरा गरेका छन् र अन्तमा कसरी सर्वहारा वर्गले पुँजीपति वर्गलाई धुलो चटाउने र सारा संसारमा सत्ता कब्जा गर्ने भनेर व्याख्या गरेका छन्। आफ्नो सबैभन्दा चर्चित कृति ‘दास क्यापिटल’ मा उनले यी विचारहरुलाई निकै तथ्यपरक र वैज्ञानिक ढंगले विश्लेषण गरेका छन् ।

बेलायतका उनका प्रतिष्ठित जीवनीकार फ्रान्सिस व्हीन भन्छन्, ‘मार्क्सले सम्पूर्ण मानव सभ्यतालाई दास बनाउने सर्वव्यापी पुँजीवादको विरुद्धमा दार्शनिक तर्क गरे ।’ २० औं शताब्दीमा, मजदुरहरूले रूस, चीन, क्युबा र अन्य देशहरूमा शासकहरूलाई पराजित गरे र निजी सम्पत्ति र उत्पादनका साधनहरू कब्जा गरे ।

बेलायतको स्कूल अफ इकोनोमिक्सका जर्मन इतिहासकार अल्ब्रेक्ट रिसल भन्छन्, ‘मार्क्स विश्वव्यापीकरणका पहिलो आलोचक थिए । उनले विश्वमा बढ्दो असमानता विरुद्ध चेतावनी दिए । २००७–०८ को विश्वव्यापी मन्दीले फेरि एक पटक उनको विचारलाई सान्दर्भिक बनायो।

मन्दीको पुनरावृत्ति
पुँजीवादका ‘पिता’ एडम स्मिथको ‘वेल्थ अफ नेशन’ भन्दा उल्टो मार्क्सले बजार चलाउनमा कुनै अदृश्य शक्तिको भूमिका हुँदैन भन्ने व्याख्या प्रस्तुत गरे। बरु, उनले भनेका छन् ‘मन्दी बारम्बार आउनेछ र यसको कारण पूँजीवादमा नै हो। अल्ब्रेक्टका अनुसार, ‘पुँजीवादको समूलअन्त्य नभएसम्म यस्तो आर्थिक मन्द िबारम्वार आइरहन्छ ।’

सन् १९२९ मा सेयर बजारको क्र्यास र त्यसपछिका झट्काले सन् २००७–०८ मा विश्वको वित्तीय बजार अभूतपूर्व संकटमा डुबेको थियो। यी सङ्कटको असर ठूला उद्योगभन्दा वित्तीय क्षेत्रमा बढी परेको विज्ञहरू बताउँछन् ।

३– अकुत नाफा र एकाधिकार
मार्क्सको सिद्धान्तको एउटा महत्त्वपूर्ण पक्ष भनेको ‘अतिरिक्त मूल्य’ हो । अतिरिक्त मूल्य भनेको श्रमिकले आफ्नो ज्याला बाहेक उत्पादन गर्ने मूल्य हो । मार्क्सका अनुसार उत्पादनका साधनका मालिकहरूले यो अतिरिक्त मूल्य लिने र सर्वहारा वर्गको खर्चमा आफ्नो नाफा बढाउने प्रयास गर्नु समस्या हो।

यसरी पूँजी एकै ठाउँमा र थोरै व्यक्तिका हातमा केन्द्रित हुन्छ र यसका कारण बेरोजगारी बढ्दै जान्छ र तलब घट्दै जान्छ । यस्तो आज पनि देख्न सकिन्छ । बेलायती पत्रिका ‘द इकोनोमिस्ट’ले हालै गरेको एक विश्लेषण अनुसार अमेरिका जस्ता देशमा कामदारको तलब विगत दुई दशकयता स्थिर रहेको छ भने कार्यकारीको तलब ४० देखि ११० गुणा बढेको छ ।

४– व्श्विव्यापीकरण र असमानता
यद्यपि मार्क्सका जीवनीकार फ्रान्सिस वेनले पुँजीवादले ‘आफ्नो चिहान आफै खन्ने’ बताएका छन् । मार्क्सको यो भनाइ अहिले हेर्दा उल्टो भएकोजस्तो दृखिन्छ, किनभने अहिले साम्यवादी धार कमजोर भएको र अर्कोतिर पुँजीवाद सर्वव्यापी भएको छ ।

तर मार्क्सवादी सिद्धान्तकार र पेरिस विश्वविद्यालयका दर्शनशास्त्रका प्राध्यापक ज्याक रेन्सिएर भन्छन्, ‘चिनियाँ क्रान्तिबाट मुक्त भएका शोषित र गरिब मजदुरहरूलाई आत्महत्याको छेउमा ल्याइएको छ ताकि पश्चिम आराममा बाँच्न सकोस्, जबकि अमेरिका चीनको पैसामा जीवित छ, अन्यथा यो टाट हुनेछ।’

मार्क्सको भविष्यवाणी अहिले असफलजस्तो देखिए पनि उनले पुँजीवादको विश्वव्यापीकरणको आलोचना गर्नमा कुनै गल्ती गरेनन् । ‘कम्युनिष्ट घोषणापत्र’ मा उनले पुँजीवादको विश्वव्यापीकरण नै अन्तर्राष्ट्रिय अस्थिरताको मुख्य कारण हुने तर्क गरेका छन् । र २० औं र २१ औं शताब्दीको आर्थिक संकटले पनि त्यही देखाएको छ ।

यही कारणले गर्दा विश्वव्यापीकरणका समस्याहरूको वर्तमान बहसमा मार्क्सवादको बारम्बार उल्लेख पाइन्छ।