जनता टाइम्स

२८ बैशाख २०८०, बिहीबार ०९:०७

विश्वकै कान्छी प्रधानमन्त्रीको भयो सम्बन्ध विच्छेद


हेलसिन्की, २८ वैशाख । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिन चुनाव हारेपछि पद छाड्ने तयारीमा छिन् ।

यसैबीच, बुधबार उनले आफू र उनका श्रीमानले सम्बन्धविच्छेद गरेको घोषणा गरेकी छन् । ‘हामीले सँगै सम्बन्धविच्छेदको लागि निवेदन दिएका छौं,’ मारिनले इन्स्टाग्राममा भनेकी छन् । हामी १९ वर्षको सह–यात्राका लागि धेरै आभारी छौं।

उनले थपेकी छन् उनी अझै पनि आफ्नो पार्टनर मार्कस राइकोनेनको ‘बेस्ट फ्रेन्ड’ हुन् । मार्कसले पनि आफ्नो इन्स्टा प्रोफाइलमा यो घोषणा गरेका छन् ।

यो दम्पतीको पाँच वर्षकी छोरी छिन् । ‘हामी एक परिवारको रूपमा सँगै समय बिताउन जारी राख्नेछौं,’ मारिनले भनिन् । गत महिना अप्रिलमा मारिनको सोसल डेमोक्र्याट पार्टी २०० सदस्यीय संसदमा ४३ सिटसहित तेस्रो भएको थियो ।

राष्ट्रिय गठबन्धनले ४८ र फिन पार्टीले ४६ सिट जितेका छन् र अहिले दुवै दल मिलेर सरकार बनाउने वार्तामा छन् । ३७ वर्षीया साना मारिन सन् २०१९ मा विश्वकै कान्छी प्रधानमन्त्री बनेकी थिइन् ।

लोकप्रियतादेखि विवादसम्म
निजी रूपमा पार्टी गर्नेदेखि लिएर आफ्नो देशलाई नेटोमा सामेल गर्नसम्म, सन्ना मारिन पछिल्ला दशकहरूमा फिनल्याण्डको सबैभन्दा लोकप्रिय प्रधानमन्त्री थिइन्। कोभिड–१९ महामारीको बेला उनको लोकप्रियता चरम सीमामा थियो ।

उनको कोरोनासँग लड्ने तरिकाको विश्वभर प्रशंसा भएको थियो । सन्ना मरिन आफ्नो निजी जीवनलाई लिएर पनि विवादमा परेकी थिइन् । गत वर्ष अगस्ट २०२२ मा, उनी फिनिश सेलिब्रेटीहरूको समूहसँग पार्टी गर्दै देखिएका थिइन् ।

लागुऔषध परीक्षण दिनुपर्यो
सानाको पार्टीको भिडियो सामाजिक सञ्जालमा निकै शेयर भएको थियो । उनी विश्वको हेडलाइन्सको हिस्सा बनेकी थिइन् । विवाद चर्किएपछि उनले लागुऔषध परीक्षण समेत गराउनुपरेको थियो ।

कतिपयले उनको निजी जीवनको अधिकारको रक्षा गरे, अरूले उनको अनुभवको कारण मुद्दा बनाए । सान्ना मारिनको सरकारले औपचारिक रूपमा राजीनामा दिइसकेको छ तर नयाँ सरकार गठन र नियुक्ति नभएसम्म कार्यवाहकको रूपमा काम गरिरहनेछ।