काठमाडौं, ३० बैशाख । नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप (एएसी) ले सञ्चालन गर्ने एएसी एकेडमी प्रशिक्षणमा सहभागी हुन आज अस्ट्रेलिया प्रस्थान गर्नुभएको छ । नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सुवासलाई शुभकामनासहित बिदाइ गर्नुभयो ।
सुवास जेठ १ देखि ५ गतेसम्म मेलबर्नमा आयोजना हुने विशेष प्रशिक्षणमा सहभागी हुनुहुनेछ । सुवास हाल विश्व एमेच्योर गल्फ वरीयतामा १८९औं स्थानमा हुनुहुन्छ । मेलबर्नमा उहाँले विज्ञहरुबाट सञ्चालन हुने गल्फ, खेल विज्ञान, फिटनेसलगायत सेसनमा भाग लिनुहुनेछ ।
आगामी अक्टोबरमा रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप तयारीका लागि खेलाडीहरुलाई विशेष प्रशिक्षण दिन एएसी एकेडमी आयोजना गरिएको जनाइएको छ । अक्टोबर २६ देखि २९ सम्म रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा सुवास र सद्भाव आचार्यले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्