जनता टाइम्स

११ भाद्र २०७६, बुधबार १३:०७

प्रधानन्यायाधीशदेखी न्यायाधीशसम्मको तलब वृद्धि, नयाँ तलब यस्तो छ


काठमाडौं, भदौ ११

अर्थ मन्त्रालयले प्रधानन्यायाधीशदेखि संसद् सचिवालयका महासचिवसम्मको नयाँ तलबमान सार्वजनिक गरेको छ । सरकारको भदौ ४ गतेको निर्णयअनुसार मन्त्रालयले प्रधान न्यायाधीश, न्यायाधीशहरु, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी, उच्च तथा जिल्ला अदालतका न्यायाधीश, संघीय संसद्का महासचिवलगायतको नयाँ तलबमान सार्वजनिक गरेको हो ।

जसअनुसार प्रधान न्यायाधीशको मासिक तलब ८६ हजार ९५० रुपैयाँ भएको छ । त्यस्तै न्यायाधीशको ७१ हजार ९५०, महान्यायाधिवक्ताको ७१ हजार ९५० र न्यायपरिषद्का सदस्यको ७१ हजार ९५० रुपैयाँ तलब तोकिएको छ ।

यस्तै, संवैधानिक निकायका प्रमुख पदाधिकारी र पदाधिकारीको तलबसमेत तोकिएको छ । जसअनुसार संवैधानिक निकायका प्रमुख पदाधिकारीको तलब ६८ हजार १८० र पदाधिकारीको ६४ हजार ४२० रुपैयाँ तोकिएको छ । उच्च अदालतका मुख्य न्यायाधीशको ६८ हजार १८० र उच्च अदालतका न्यायाधीशको ६४ हजार ४२० रुपैयाँ तलब तोकिएको छ । त्यस्तै, जिल्ला न्यायाधीशको ५४ हजार ४३० रुपैयाँ तोकिएको छ ।

यस्तै, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तको ६८ हजार ११० र आयुक्तहरुको ६४ हजार ४२०, संघीय संसदका महासचिवको ६५ हजार १४० र सचिवको ६९ हजार ६८० रुपैयाँ मासिक तलब तोकिएको छ ।