काठमाडौँ, ३ जेठ । सर्वोच्च अदालतले टीकापुर घटनाको मुद्दामा रेशम चौधरीलाई जन्मकैदको फैसला सदर गरिदिएपछि नागरिक उन्मुक्ति पार्टी सरकारसँग चिढिएको छ।यसअघि चौधरीलाई रिहा गर्ने सर्तसहित सरकारमा गएको यो पार्टी अदालतको पछिल्लो आदेशको भोलिपल्टदेखि नै सडक संघर्षमा उत्रिएको छ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्दै सरकारमा एक मन्त्रालय लिएको नागरिक उन्मुक्तिले अबको तीन दिनभित्र टीकापुर घटनालाई राजनीतिक मुद्दा मानेर चौधरीलाई रिहा गर्ने प्रक्रिया नथालेमा सरकारबाट बाहिरिने संकेत दिएको छ।बुधबारको बैठकमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, चौधरीलाई रिहा गर्नेसम्बन्धी विधेयक अघि बढाउनेलगायतका काम सरकारले नगरे सरकारबाट बाहिरिन बाध्य हुने उपाध्यक्ष लाक्पा तामाङले जानकारी दिनुभयो । आजदेखि तीनदिनसम्म राँके जुलुस गर्ने बताएको नागरिक उन्मुक्तिले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ।
आज बसेको बैठकपछि वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुभएको हो । टीकापुर घटनामा जन्मकैदको सजाय पाएर जेल जीवन बिताइरहेका रेशम चौधरीले भने सर्वोच्चको फैसला स्वीकार गर्नुको विकल्प नरहेको बताउनुभएको छ। हिजो सर्वोच्चले आफूलाई जन्मकैदको फैसला सदर गरेपछि आज विज्ञप्ति निकालेर चौधरीले अदालतले गरेको फैसलामा आफूलाई न्यायिक नभए पनि स्विकार्नुको विकल्प नरहेको बताउनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्