काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने बताउनुभएको छ । आज प्रतिनिधि सभाको बैठकमा सांसद दीपक कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुंगो लाग्ने बताउनुभएको हो ।
उहाँले अघिल्लो प्रतिनिधिसभाकै पालामा पारित भएर राष्ट्रपतिकोमा पुगेको नागरिकता विधेयक प्रमाणिकरण नभएर होल्ड भएर बसेको र खारेजसमेत नभएको भन्दै त्यही विधेयकलाई राष्ट्रपतिमार्फत प्रमाणीकरण गराउनेबारे छलफल भइरहेको बताउनुभयो । उहाँले सिधै राष्ट्रपति रामचन्द्र पौडेलबाट या सदनबाट संकल्प प्रस्तावमार्फत नागरिकता विधेयक पारित गर्ने विकल्प रहेको पनि खुलाउनुभयो ।
अरु कुनै प्रस्तावमार्फत् राष्ट्रपतिलाई विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने अर्को बाटो हुनसक्ने पनि उहाँले बताउनुभयो । ‘अर्को क्याबिनेटबाट डिसिजन गरेर राष्ट्रपतिसँग अनुरोध गर्ने पनि एउटा बाटो हुनसक्छ । तर अब त्यो विधेयकलाई खारेज गरेर फेरि अर्को विधेयक ल्याउने मत पनि छन्।
फेरि सदनमा अर्को विधेयक ल्याएर त्यो जिरोमा गयो’, उहाँले भन्नुभयो,‘जिरोमा गइसकेको, मृत भइसकेको विधेयकलाई जीवित मान्न सकिँदैन भन्ने मत पनि सदनभित्र र बाहिर पनि छ। यो विषयमा छलफल चलेको छ। प्रधानमन्त्रीको हैसियतले एक महिनाभित्रै यसको टुंगो लाग्ने प्रतिबद्धता जनाउँछु ।’ उहाँले नयाँ विधेयक ल्याउनुपर्ने मतसमेत रहेको भन्दै विभिन्न सम्भावनाहरुमा छलफल भइरहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्