जनता टाइम्स

११ भाद्र २०७६, बुधबार १६:३७

संबिधान दिवसका दिन तास खेल्न, बियर खान र डेटिङ जान बिदा दिइएको होइन : सञ्चारमन्त्री बाँस्कोटा


काठमाडौं, भदौं ११ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ–आफ्नो स्थानबाट योगदान दिन आम नेपालीलाई आग्रह गर्नुभएको छ ।

संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले बुधबार संचार मन्त्रालयमा गरेको छलफलमा मन्त्री बाँस्कोटाले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपुर्ण सहभागिताको अपेक्षा गरिएको बताउनु भयो । उहाँले संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै बर्ग र क्षेत्रको अर्थपुर्ण सहभागीता हुनुपर्ने बताउनुभयो ।

‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, बियर खानका निम्ति, गर्लफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति बिदा दिइएको होइन, फाइनल कुरा यही हो, सिधा सिधा, राष्ट्रिय दिवस नै मनाउन दिएको हो,’ सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले संविधान दिवसलाई कर्मकाण्डी भन्दा भिन्न रुपमा सबै बर्ग विशेषको सहभागिता हुने गरी हर्षोल्लासपुर्ण रुपमा मनाउनका लागि सिर्जनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि आग्रह गर्नुभयो ।

संविधान दिवस मूल समारोह समिति अन्तर्गत संचारमन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचार प्रसार उपसिमितिले आज संचारक्षेत्रसंग सम्बन्धित सबै सरोकारवालाहरुसँग छलफल गरेको हो ।