जनता टाइम्स

५ जेष्ठ २०८०, शुक्रबार १७:३७

सिंचाइका लागि कृषकलाई विद्युत महसुल छुट तथा साना वाटर पम्प दिइने, ढुंगा, गिटी र बालुवा उत्खननका लागि कानून बनाइने


काठमाडौं, ५ जेठ । सरकारले सिंचाइको लागि विद्युत महशुलमा छुट दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहज तरिकाले सिंचाई सुविधा पुगोस् भनेर सिंचाइको लागि आवश्यक पर्ने विद्युत महसुल छुट दिइने बताउनुभयो । त्यस्तै, साना पानी तान्ने पम्पको पनि सरकारले व्यवस्था गर्ने भएको छ । कृषकको उत्पादनको संरक्षणको लागि प्रत्यक स्थानीय तहकमा हरित गृहको समेत निमाण हुने भएको हो । ठूला सिंचाइ आयोजनाहरुको पनि काम अगाडि बढाइने छ ।

यस्तै ढुंगा उत्खनन गरेर विदेश निर्यात गर्ने रणनीति लिएको पनि उहाँले बताउनुभयो । पौडेलले बालुवा, गिटी र रोडालगायतको वस्तुको उत्खननको लागि कानून निर्माण गरिने बताउनुभयो । ढुंगा खानीको संरक्षण, प्रवर्द्धन, व्यवसायी विकास र निर्यातको लागि सरकारले व्यवस्थापन गर्ने र नेपालमा ढुंगा निर्यातको ठूलो सम्भावना रहेको बताउनुभयो । केही वर्ष पहिले नेपालबाट ढुंगा निर्यात समेत हुने गरेको थियो । यद्यपी यसमा राजनीतिक दलहरुबीच एक मत भने छैन ।