जनता टाइम्स

११ भाद्र २०७६, बुधबार १९:४६

स्थानीय तहलाई सक्षम र शक्तिशाली बनाउँछौं : मुख्यमन्त्री पोखरेल


गुल्मी, भदौं ११ । प्रदेश नं– ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ अन्तर्गतका गाउँपालिका र नगरपालिकालार्ई सक्षम र शक्तिशाली निकायका रुपमा विकास गर्न खोजेको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले जनतालाई सेवा र सुविधा प्रदान गर्नका लागि स्थानीय निकायलाई हरेक हिसाबले सक्षम र सवल बनाउने सरकारको नीति अन्तर्गत भविष्यमा सबै आधारभूत विषयलाई स्थानीय निकायबाटै सुनिश्चितता गर्ने प्रदेश सरकारको मुख्य कार्ययोजना रहेको प्रष्ट पार्नुभयो ।

पूर्वाधार विकासको काम प्रदेशले गर्ने, सुशासन कायम गर्ने र मुलुकको नेतृत्व गर्ने काम केन्द्रले गर्ने, यही ढाँचाबाट हामी अघि बढेमा विकासको छलाङ् मार्न सकिन्छ, त्यही हिसाबले प्रदेश सरकार अघि बढेको छ,’ गुल्मीको धुर्कोट गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज उदघाटन गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो । प्रदेश नं– ५ ले अन्य प्रदेशको तुलनामा योजना, कानून र कार्यालयसमेत बनाइसकेको भन्दै यस आर्थिक वर्षको प्रथम चौमासिकदेखि बजेट खर्च गर्न शुरु गर्ने र जेठ मसान्तसम्म पूर्वाधारका काम सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुुभयो ।

सातमध्ये सबै भन्दा धेरै पूँजीगत खर्च गर्ने प्रदेशका रुपमा ५ नं– लाई स्थापित गर्न सफल भएको भन्दै मुख्यमन्त्री पोखरेलले त्यस हिसाबले पनि यस प्रदेशका जनता निराश हुनुपर्ने अवस्था नरहेको तर्क गर्नुभयो । उहाँले कृषिमार्फत रोजगारी सिर्जना गर्ने, तीन वर्ष्भित्र घरघरमा आधारभूत खानेपानी पुर्याउने, विद्युत्को पहुँच नपुगेको घरमा ९० प्रतिशत अनुदानमा सोलार उपलब्ध गराउने लगायतका प्रदेश सरकारको योजना रहेको बताउनुभयो ।

जिल्लाका १२ स्थानीय तहमध्ये पहिलो पटक धुर्कोट गाउँपालिकाले रु एक करोड ३५ लाखाको लागतमा प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो । साढे दुई तलाको उक्त पक्की भवनमा १५ कोठा रहेको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो । भवन निर्माणका लागि कृष्णप्रसाद घिमिरे, हरिप्रसाद घिमिरे, रामप्रसाद घिमिरे र गणेश घिमिरे चार दाजुभाइले आठ रोपनी जग्गा निःशुल्क रुपमा प्रदान गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकालाई निःशुल्क रुपमा जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मान गरिएको थियो ।