काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ अर्थिक वर्षको बजेट पास गरेर छिमेकी मुलुक भारतको भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री नियुक्त भएपछि उहाँ पहिलो पटक छिमेकी मुलुक भारतको भ्रमणमा जान लाग्नुभएको हो । तर भ्रमणको औपचारिक निर्णय भने भइसकेको छैन । प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणका लागि नयाँ दिल्ली जाने गरी परराष्ट्रमन्त्रालयले तयारी थालेको छ ।
यसका लागि परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार पूर्वराजदूत र पूर्वसचिवहरुसँग परामर्श गरेका थिए। त्यस्तै आज पूर्वपरराष्ट्रमन्त्रीहरुसँग उनले प्रधानमन्त्रीको भ्रमणका एजेन्डालाई लिएर संवाद गर्नुभएको छ । उहाँले व्यापार, वाणिज्य, जलस्रोत, सिमाना, पारवहन, पर्यटन तथा सांस्कृतिक सम्बन्धसँगै जनस्तरको सम्बन्धसहितका एजेन्डामा छलफल गर्नुभएको हो ।
एकजना उपप्रधानमन्त्रीनिकट स्रोतले जेठ १७ बाट प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ । ‘बजेट पारित गरेर प्रधानमन्त्रीज्यू जेठ १७ गते नयाँ दिल्ली जाने तयारी भइरहेको छ । २० गतेसम्म भ्रमण हुन्छ,’ स्रोतले भन्नुभयो,‘भ्रमणका क्रममा नयाँ दिल्लीबाहिरको अर्को सहर पनि जाने सम्भावना छ ।’ तर, परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति औपचारिक रुपमा तय भइनसकेको जनाएको छ । ‘प्रधानमन्त्रीज्यू भारत भ्रमणमा जाने कुरा त छ, तर डेट फिक्स भइसकेको छैन,’ परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव दीपक जोशीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्