जनता टाइम्स

६ जेष्ठ २०८०, शनिबार २०:५९

बौलाहा कुकुरको टोकाइबाट २० जना घाइते


वीरगन्ज, ६ जेठ । वीरगन्जमा आज एउटा बौलाहा कुकुरको टोकाइबाट २० जना घाइते भएका छन् । रातो खैरो रंगको कुकुरले आज दिउँसो १ बजेदेखि शहरको विभिन्न स्थानमा मानिसहरूलाई टोक्दै हिँडेको र साँझसम्म नारायणी अस्पतालमा २० जनाभन्दा बढी मानिस उपचारका लागि आएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विदुर शिवाकोटीले बताउनुभयो ।

दिउँसो १ बजेतिर वडा नम्बर ६ रामटोलस्थित ६ नम्बर गेट अगाडिको सडकमा एक व्यक्तिलाई टोकेको उक्त कुकुरले त्यसपछि पानगल्ली, माइस्थान, घण्टाघर, रानीघाट, छपकैया लगायतका टोलमा पुग्दै सडकमा भेटिएका जोकोहिलाई जथाभावी टोकेर आतंक मच्चाएको थियो । कुकुरले टोकेर घाइते बनाएका २० जना मध्ये प्रायः सबै बालबालिका नै रहेको बताइएको छ ।