जनता टाइम्स

७ जेष्ठ २०८०, आईतवार १४:२९

नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउने र दोषी उम्काउन खोजियो : केपी ओली


काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दोष फसाउन खोजिएको आरोप लगाउनुभएको छ । शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आज भएको छलफलमा सहभागी हुँदै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउन र दोषी उम्काउन खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

आफ्नो पार्टी अपराधि नउम्किने र निर्दोष कोही नफसोस् भन्दै उहाँले निर्दोष फसाउने र दोषी उम्काउने काम बन्द गर्न बताउनुभयो । प्रमुख तीन दलका शीर्ष नेताहरुको बीच भएको भेटमा दोषी उम्काउन खोजिएको भनेर भएको टिप्पणीप्रति आपत्ति जनाउँदै उहाँले भ्रष्टाचारविरुद्ध भएका छानबिनमा एमाले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

त्यस्तै उहाँले सरकारलाई पुनर्लेखनका लागि नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभएको छ । उहाँले उक्त नीति तथा कार्यक्रम पुनर्लेखन गर्न फिर्ता लैजान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभयो ।