काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समर्थन जनाउन नसकिने जिकीर गर्नुभएको छ । शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आज भएको छलफलमा सहभागी हुने क्रममा अधिकांश समय उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनता र देशको समस्या समाधान गर्न समक्ष नहुने भन्दै समर्थन जनाउन नसकिने बताउनुभयो ।
उक्त नीति तथा कार्यक्रममा समर्थन नजनाउन अन्य दलका सांसदहरुलाई आग्रह गर्दै उहाँले यसलाई फिर्ता लगेर जनता र देशको समस्या समाधान गर्न र आवश्यकता पूरा गर्नेगरी अर्को बनाएर ल्याउन पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभयो । अन्यथा छक्का हानेर रिङ आउट गर्नुपर्ने उहाँको भनाइ छ । ‘म सबैलाई आग्रह गर्न चाहन्छु, यसलाई कुनै हालतमा समर्थन गर्न हुँदैन, समर्थन नगरौँ । पहिलो कुरा सम्मानीय प्रधानमन्त्रीज्यूले फिर्ता लिनुस् । फिर्ता लिनुहुन्न भने यसलाई छक्का हानेर रिङ आउट गर्नुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्