जनता टाइम्स

१२ भाद्र २०७६, बिहीबार ०९:१९

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेस गरिदै


काठमाडौँ, भदौ १२

सरकारले मिडिया काउन्सिल विधेयक आज राष्ट्रिय सभामा पेस गर्ने भएको छ । दिउसो १ बजे बोलाइएको राष्ट्रिय सभा बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विधेयक पेस गर्ने कार्यसूची तय भएको हो ।

विधेयकमा रहेका केही बुँदा भने संशोधन हालेर सच्याइने सहमति भएको छ । विधेयकका केही प्रावधानका विषयमा सरोकारवाला संघसस्थाले विरोध गर्दै आएका थिए । नेताहरूले विधेयक सच्याइने प्रतिबद्धता व्यक्त गरेपछि पत्रकार महासंघले आन्दोलन स्थगन गरेको थियो ।

राष्ट्रिय सभामा नेकपाका सचेतक खिमलाल भट्टराईले महासंघसँग गरिएको प्रतिबद्धताअनुसार विधेयकमा संशोधन गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनु भयो । नेकपाका तर्फबाट सचेतक भट्टराईले असार २३ मा महासंघले राखेको मिडिया काउन्सिलको गठन, स्वायत्तता र जरिवानालगायत सरोकारलाई संसदीय प्रक्रियाबाट सम्बोधन गरिने लिखित प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । राष्ट्रिय सभामा कांग्रेसका मुख्य सचेतक सरिता प्रसाईंले सत्तारूढ दलका नेताहरू र मन्त्री स्वयंले गरेको प्रतिबद्धताप्रति विश्वास गरिएको बताउनु भयो ।