जनता टाइम्स

१२ भाद्र २०७६, बिहीबार १३:४९

प्रधानन्यायाधीशलाई नै बिपक्षी बनाइएको मुद्दामा सर्वाेच्चले दियो कारण देखाउ आदेश


काठमाडौं, भदौ १२ । सर्वोच्च अदालतले ३८ क्विन्टल सुनकाण्डमा जागिर गुमाएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गर्नुको कारण देखाउन न्यायपरिषदलाई आदेश दिएको छ ।

न्यायपरिषद्ले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आदेश दिँदा कैफियत देखिएको भन्दै सिंहलाई बर्खास्त गरेको थियो । सिंहले न्यायपरिषद्, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई विपक्षी बनाई रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सिंहलाई के–कति कारणले बर्खास्ती गरेको हो सोको कारण देखाउन परिषदलाई आदेश दिएको हो । सिंहको रिटले अग्राधिकार पनि पाएको छ । कारबाही भए पनि सर्वोच्चले भने सिंहसहितका न्यायाधीशले दिएकै आदेश सदर गरेको थियो ।