जनता टाइम्स

१३ जेष्ठ २०८०, शनिबार ०६:२८

काभा महिला भलिबल : सेमिफाइनलमै सकियो नेपालको यात्रा


काठमाडौं, १३ जेठ । साविक विजेता नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा पराजित भएको छ ।

उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको नेपाल राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रबार भएको सेमिफाइनलमा काजकिस्तानसँग ३–२ को सेटमा पराजित भयो । पहिलो सेट ३०–२८ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेको थियो ।

दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको नेपालले तेस्रो सेट २५–१५ ले जितेको थियो । चौथो सेटमा लयमा फर्किएको काजकिस्तानले २५–१८ को जित निकाल्दै खेललाई निर्णायक सेटमा लगेको थियो । अन्तिम तथा निर्णायक सेटमा काजकिस्तानले १५–७ को जित निकाल्दै फाइनलमा स्थान बनायो ।

फाइनलमा काजकिस्तानले आइतबार भारतको सामना गर्नेछ । शुक्रबार नै भएको पहिलो सेमिफाइनल खेलमा भारतले उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । भारतले उज्बेकिस्तानमाथि २५–१७, २५–२०, २५–१५ को सहज जित निकालेको हो ।

अघिल्ला दुई संस्करणको विजेता नेपालको घरेलु मैदानमा उपाधि चुम्ने सपना साकार हुन सकेन । नेपालले तेस्रो स्थानका लागि अब आइतबार उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।