जनता टाइम्स

१३ जेष्ठ २०८०, शनिबार १६:३९

बैंग्लोर नपुगी बीचबाटै फर्काइएको विमानका १५९ जना यात्रीको उडान आजै


काठमाडौं, १३ जेठ । भारतको बैंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको एउटा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किएको थियो । आज दिउँसो बैंग्लोरका लागि उडेको आरए २२५ नम्बरको विमानलाई बैंग्लोर नपुगी काठमाडौं नै फर्काएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो ।
दिउँसो पौने २ बजे उडेको विमानलाई केही बेरमै काठमाडौं फर्काइएको थियो ।

सिटौलाका अनुसार विमानमा चरा ठोक्किएको आशंका गरिएको थियो । तर चरा ठोक्किएको हो वा होइन त्यो भने पुष्टि हुन बाँकी छ । अहिले उक्त विमानको चेकजाँचको कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित १५९ जना सवार रहनुभएको थियो । त्यसमा सवारी यात्रीलाई अर्को विमानमार्फत आजै बैंग्लोर पठाउने तयारी गरिएको पौडेलले बताउनुभयो । साँझ ५ बजेर २० मिनेटमा नेपाल एयरलाइन्सकै वाइडबडी ३२० विमानमार्फत उहाँहरूको उडान तय गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । प्राविधिक परीक्षणपछि फर्काइएको विमानबारे निर्णय लिइने पनि जनाइएको छ ।