जनता टाइम्स

१३ जेष्ठ २०८०, शनिबार १८:३५

घण्टी अराजकताको संकेत हो : झलनाथ खनाल


काठमाडौं, १३ जेठ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नक्कली भूटानी शरणार्थीको केस लज्जास्पद विषय भएको बताउनुभयो । उहाँले यसले देशको अस्मिता लुटिएको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले अनुसन्धानलाई अन्तिमसम्म लैजान आग्रह गर्नुभयो ।

उहाँले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले अनुसन्धानमाथि हस्तक्षेप गरे नेपाली नागरिकलाई सह्य नहुने चेतावनी दिनुभयो । पूर्वप्रधानमन्त्री खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरूको समीक्षा हुन जरुरी रहेको बताउनुभयो । उहाँले उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँले घण्टी अराजकताको संकेत भएको टिप्पणी गर्नुभयो ।

उहाँले आन्दोलनमा ठूलो रहेका पार्टीहरूले देशको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिनुभयो । उहाँले पूर्वराजा शाह देशका विभिन्न स्थानमा अभिनन्दनमा हिँडिरहेको प्रसंग उठाउँदै पूर्वराजाका गतिविधिबाट लोकतन्त्र गुम्ने स्थिति नरहेको बताउनुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी वा कुनै नयाँ पार्टी खोलेर संसद्मा आए लोकतन्त्रको राम्रो पक्ष हुने बताउनुभयो ।