जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार १३:२८

न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्ड


काठमाडौं, १५ जेठ । सन् २०१६ देखि सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को छैठौं संस्करण आगामी अगष्ट १२ मा अमेरिकाको न्यूयोर्कमा हुने भएको छ । ’‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित हुने अवार्ड न्यूयोर्क क्विन्स शहरको मेलरोज बलरुममा हुन लागेको हो ।

अवार्डका अध्यक्ष नवराज श्रेष्ठका अनुसार विदेशमा नेपाली फिल्मको प्रवर्धन गर्दै नेपालमा फिल्म टुरिजम हबको ढोका खोल्न अवार्ड आयोजना गर्न लागिएको हो । एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रायोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्योरेन्स कम्पनीको सह–प्रायोजनमा हुने अवार्डको होस्ट अर्गनाइजर ड्रिम्स युनिभर्सल एलएलसी न्यूयोर्क रहनेछ ।

अवार्डको आयोजक नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसी छन् । अवार्डका अघिल्ला पाँच संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए । आयोजकले अवार्डको लागि फिल्म छनोट समिति गठन भइसकेको र फिल्म छनोटको काम भइरहेको जनाएको छ ।