खोटाङ, १५ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले दलितले छोएको दही खाएको निहुमा अघोषित रुपमा सामाजिक बहिष्करणमा पारिएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ८० वर्षीय टंकप्रसाद आचार्यलाई क्षतिपुर्ती दिन सरकार समक्ष सिफारिस गरेको छ । छुवाछुतमुक्त समाज निर्माणका लागि प्रदेश सरकारको अभियान अन्तरगत जिल्ला समन्वय समितिले २०७६ साल जेठ १८ गते आयोजना गरेको सहभोजमा सहभागी हुनेक्रममा दलित युवतीको हातबाट दही खाएको निहुमा सामाजिक बहिष्करणमा परेका आचार्यलाई आयोगले एक लाख क्षतिपुर्ति दिन सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
आयोगको केन्द्रीय कार्यालयले मानसिक पीडा खेप्न वाध्य आचार्यलाई क्षतिपुर्ती दिनका लागि बैसाख १७ गते सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश शाखा कार्यालय खोटाङका मानव अधिकार अधिकृत नेत्र गौतमले बताउनुभयो । आयोगले जातीय छुवाछुत तथा भेदभाव विरुद्धका घटना आउनासाथ दर्ता गरी अनुसन्धान गर्न, जातीय छुवाछुत तथा भेदभाव विरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सिफारिस गरेको छ । दलितले छोएको खाएको निहुमा आफन्तबाटै केही वर्ष अघोषितरुपमा सामाजिक बहिष्करणमा परेका आचार्यको अवस्था हाल सामान्य बनेको छ ।
दलितको हातबाट दही पिएको भन्दै कुरा काट्ने, धार्मिक तथा साँस्कृतिक कार्यमा नबोलाउँदा आचार्यले अघोषितरुपमा सामाजिक बहिष्करणको सामना गरेका थिए । घट्नाको केही समयपछि बाबुको श्राद्धका लागि बोलाइएको आफ्नो पुरोहित नआएपछि आचार्यले अर्कै पुरोहित बोलाएर श्राद्ध टारेको थिए । घरमा कुशेऔसीका दिन पुरोहितले कुश नल्याएको आचार्यको गुनासो छ । समाजमै अघोषित बहिस्कारको शिकार बनाइएको भन्दै आचार्य न्यायको याचना सहित २०७६ साल भदौ ३ गते प्रदेशका तत्कालिन मूख्यामन्त्री शेरधन राईलाई गुहार्न पुगेका थिए ।
यस्तो थियो घट्ना
दलितले छोएको ‘खान हुन्न’ भन्ने अन्धबिश्वासका बीचमा जन्मे हुर्किएका आचार्यले पृथ्वीमा मानवको महिला र पुरुषभन्दा अन्य जात नभएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आयोजित सहभोजमा उत्साहकासाथ सहभागी हुनुभएको थियो । उहाँले स्थानीय किशोरी रचना सुनारको हातबाट दही पिउनुभयो । दलितले दलितकै घरमा तयार पारेको दाल, भात, खसीको मासु, तरकारी, अचार लगायतका परिकार खानुभयो । ‘यो दही घाँटीमा अड्केको भए मैले खान हुन्नथ्यो,’ दही पिउँदै आचार्यले भन्नुभएको थियो,‘मेटासिटले मरिन्छ, दलितले छोएको खाने कुराले मरिन्न । हामी सबै मानव एउटै हौँ ।’
तर, त्यही सहभागीता उहाँका लागि झमेलाको कारण बन्न पुगेको हो । पुरातन सोच भएका समाजमा जन्मिए पनि सहभोजमा सहभागी भएकामा आचार्यको तारिफ मात्र भएन । आलोचना र सामाजिक दमनको सामना पनि गर्न परिरहेको आचार्यले बताउनुभयो । सहभोजमा सहभागी भएकै कारण आचार्यमाथि सामाजिक विभेद गरिएको भन्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र खोटाङ दलित विकास मञ्चले २०७६ असार २ गते चार जना विरुद्ध उजुरी दिएको थियो । उजुरीको केही समयपछि जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा दुबै पक्षबीचमा सहमती गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्