जनता टाइम्स

१३ भाद्र २०७६, शुक्रबार ०६:५९

संझौताअनुसार कामदार पठाउने प्रक्रिया सुचारु गर्न मलेसियाको पत्र, बायोमेडिकल प्रणालीमा स्वास्थ्य संस्था थप्न सहमत


काठमाडौं, भदौ १३ । मलेसिया सरकारले मापदण्ड पुगेका सुचीकृत स्वास्थ्य संस्थालाई अनुगमन तथा निरिक्षण गरी बायोमेडिकल प्रणालीमा समावेश गर्ने जनाउदै नेपाल सरकारलाई श्रम समझदारी पत्र अनुसार कामदार पठाउने प्रक्रियालाई सुचारु गर्न आग्रह गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ सय २२ स्वास्थ्य संस्थालाई सुचीकृत गरी गत साउन २१ गते पठाएको पत्रको जवाफ दिदै मलेसियाले निर्धारित मापदण्ड पुर्‍याउने संस्थाहरु थपिदैं लगिने प्रष्ट पारेको हो । मलेसियाले नयाँ स्वास्थ्य संस्था छनोटको लागि सेवाप्रदायक संस्थामार्फत निर्धारित कार्यतालिकाअनुसार अनुगमन गर्ने जानकारी पनि दिएको छ ।

मलेसियाले नेपालसहित श्रोत मुलुक देशहरुमा बायोमेडिकल प्रणाली सञ्चालन गर्न वेस्टिनेट बिएचडीलाई जिम्मा दिएको छ । यसअघि, सरकारले मलेसियाबाट प्राप्त स्वास्थ्य मापदण्ड र स्वास्थ्य परिक्षण निर्देशिका (एसओपी) पुरा गरेका ३६ सहित एकसय २२ वटा स्वास्थ्य संस्थाको प्रस्तावित सुची पठाएको थियो । ३६ वटा स्वास्थ्य संस्था भने यसअघि नै बायोमेडिकल प्रणालीमा जडित भएका थिए ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाको जवाफ ‘सकारात्मक’ भएको वताउनु भयो । गत कात्तिक १२ गते नेपाल र मलेसियावीचको संयुक्त प्राबिधिक समिति बैठकमा नेपालद्वारा तयार गरिएको प्रस्तावित स्वास्थ्य संस्थालाई निरिक्षण तथा अनुगमन गरी मलेसियाले छनोट गर्ने उल्लेख छ ।

राजदूत पाण्डेले भदौ २४ र २५ गते तय गरिएको संयुक्त कार्यदल समुहको बैठकमा यस बिषयमा थप छलफल हुने जानकारी पनि दिनुभयो । सन् २०१५ मा मलेसियाले आफ्नो प्रक्रिया अनुसार छनोट गरेका ३७ वटा स्वास्थ्य संस्थामध्ये श्रम मन्त्रालयको बिशेषज्ञ टोली निरिक्षणमा पुग्दा एउटा स्वास्थ्य संस्था वन्द भएको थियो । त्यसलाई प्रस्तावित सुचीमा समावेश नगरी पठाएको थियो । यसलाई मलेसियाले स्वीकार गरेको छ ।

मलेसियाले ती ३७ स्वास्थ्य संस्था पनि काठमाडौंस्थित मलेसियन दूतावास र वेस्निेट एसडिएन। विएचडी कम्पनी कडा अनुगमनबाट छानिएको स्मरण गराउदै नयाँ संस्था पनि सोही प्रक्रिया अनुसार निरिक्षण तथा अनुगमन हुने जनाएको छ । ३६ वटा स्वास्थ्य संस्थाले गरेको कामदारको स्वास्थ्य परिक्षण प्रतिवेदनलाई मलेसिया सरकारको अध्यागमन विभागले स्वीकृति गर्दै आएको छ ।

बायोमेडिकल प्रणाली अनुसार उर्तिण भएको स्वास्थ्य परिक्षण प्रतिवेदन आएपछि मात्रै अध्यागमन बिभागले मलेसिया आउने कामदारको प्रवेश भिसा (कलिङ भिसा) जारी गर्छ ।