जनता टाइम्स

१३ भाद्र २०७६, शुक्रबार ०८:३२

घुस रकमसहित समातीय यातायात कार्यालयका प्रमुखसहित तीन कर्मचारी


धनगढी, भदौ १३ । यातायात कार्यालय धनगढीका निमित्त प्रमुखसहित तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले नियन्त्रणमा लिएको छ । निमित्त कार्यालय प्रमुख गम्भीरसिंह बिष्ट, शाखा अधिकृत भुवन जोशी र अधिकृत जयराज कारिगरलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको अख्तियारको महेन्द्रनगर कार्यालयका प्रवक्ता टोपबहादुर बिष्टले जानकारी दिनुभयो ।

प्रवक्ता बिष्टका अनुसार अभियुक्तहरुको साथबाट सेवाग्राहीसँग असुल गरेको करिब १ लाख ६६ हजार रुपैयाँ बरामद गरिएको छ । गाडी नामसारी गरेबापत घुस मागेको भन्दै सेवाग्राहीको गुनासो आएपछि अख्तियारले छापा मारेको थियो । सेवाग्राहीले घुसबापत दिएको केही रकम अख्तियार नै उपलब्ध गराएको थियो । ‘गाडी नामसारी गर्दा घुस मागेको पूर्व जानकारी आएको थियो । ती सेवाग्राहीलाई हामीले नै केही रकम दिएर पठाएका थियौँ,’ प्रवक्ता बिष्टले भन्नुभयो, ‘त्यही नोट बरामद गरेका छौँ ।’

अख्तियारका डिएसपी प्रेमबहादुर बस्नेतको नेतृत्वमा आएको टोलीले तीनै जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई थप कारबाहीका लागि काठमाडौं पठाइने अख्तियारको महेन्द्रनगर कार्यालयले जनाएको छ ।