जनता टाइम्स

१७ जेष्ठ २०८०, बुधबार १०:०५

बचतकर्ताको पैसा राकिएको छैन, समाचार झुटो हो : पारिजात सहकारी


भक्तपुर, जेठ १७ । पारिजात बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो संस्थामा बचतकर्ताले सहज रुपमै रकम फिर्ता पाइरहेको बताएको छ । जनताटाइम्स डटकममा प्रकाशित ‘डुब्ने अवस्थामा पुग्यो सूर्यबिनायकको पारिजात सहकारी : बचतकर्ताको पैसामा पदाधिकारीको मनपरी’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै पारिजात सहकारीले यस्तो बताएको हो ।

सहकारीका अध्यक्ष टंकराज काफ्लेले आज खण्डन पठाउँदै भन्नुभएको छ, ‘सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ साथै प्रदेश सहकारी ऐन २०७६ र प्रदेश सहकारी नियमावली २०७६ लाई आधार मानेर सञ्चालन भइरहेको यस संस्थाको सहकारी विभागबाट मिति २०७९ पौष महिनामा सघन अनुगमन भई उक्त अनुगमनको प्रतिवेदन अनुसार संस्थाको वित्तिय अवस्था सकारात्मक रहेको भनि दिईएको प्रतिवेदनको आधारमा साथै सहकारीको विकासमा लामो समय देखी कार्यरत विभिन्न संस्थाले विभिन्न समयमा संस्थालाई उत्कृष्ट कार्य गरे वापत प्रदान गरेका सम्मान तथा पुरस्कारहरुमा भक्तपुर जिल्ला सहकारी संघले उत्कृष्ट सहकारी पुरस्कार २०७५, सहकारी वैक लि. वाट वागमती प्रदेशमा उत्कृष्ठ सहकारी पुरस्कार २०७८ र भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघवाट उत्कृष्ट कारोवार पुरस्कार २०७९ बाट सम्मानित भएको अवस्थामा संस्थाको वित्तिय अवस्था सहकारी विभागको मिति २०७९ श्रावण ३१ को सहकारी विभागको निर्देशन वमोजिम यथेष्ठ तरलता व्यस्थापन गरी मर्यादित र व्यवस्थित हुँदै यस्तो विषम परिस्थितिमा पनि आफ्नो शेयर सदस्यहरुको वचत रकम स्वच्छ तथा पारदर्शी रुपमा परिचालित भइरहेको र वित्तीय अनुशासनमा रही शेयर सदस्यहरूको आफुले जम्मा गरेको रकम कुनै पनि समयमा फिर्ता गर्न सक्ने गरी प्रशस्त मात्रामा तरलता कायम राख्दै सदस्यहरूको माग, कारोवार र आवश्यकता अनुसार ऋण लगानी समेत गरिरहेको छ ।’

काफेले खण्डनपत्रमा ‘सहकारीको क्षेत्रमा तथा नेपालकै आर्थिक क्षेत्रमा देखिएको विषम परिस्थितिमा पनि शेयर सदस्यहरुले सञ्चालक समितिमा सुम्पिएको दायित्व निर्वाहमा व्यावसायिक कुशलता पूर्वक जिम्मेवारी निर्वाह गरिरहेको यस संस्थाको बारेमा तथ्य भन्दा बाहिर गई प्रकाशित भएको उक्त समाचारले हाम्रा शेयर सदस्य वर्गमा भ्रम सिर्जना गर्ने हुँदा सो समाचारको खण्डन प्रकाशित गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं,’ भनिएको छ ।

पारिजात सहकारीका अध्यक्ष र पूर्वअध्यक्षलेनिकै बदमासी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएपछि सोही उजुरीको आधारमा तयार पारिएको समाचारप्रति अध्यक्ष काफ्लेले आपत्ति जनाउनु भएको छ । अख्तियारमा दर्ता भएको उजुरी जनताटाइम्स डटकमसँग सुरक्षित रहेको छ । दर्ता भएको उजुरी नम्बर सी ०४९६८४ रहेको छ ।

खण्डनपत्र जस्ताको तस्तै