मुगु, १८ जेठ । ज्येष्ठ नागरिकसम्बन्धी ऐनअनुसार ६० वर्ष पूरा गरेकाहरूलाई ज्येष्ठ नागरिक मानिन्छ । २०७८ सालको जनगणनाअनुसार यो उमेरका नागरिक नेपालको कुल जनसङ्ख्याको १०।२१ प्रतिशत छन् । सरकारले ज्येष्ठ नागरिक अस्पताल यातायातमा छुट दिइएको छ । तर, मुगुका ज्येष्ठ नागरिकले त्यो सेवा पाएका छैनन् । छायाँनाथ रारा नगरपालिका वडा नं ४ भामवाडाका ७२ वर्षीया देवीदास रावल श्रीमतीलाई पेट सुनिने समस्या देखिएपछि उपचारको लागि जिल्ला अस्पताल ठिनिमा पुगे ।
सरकारले ज्येष्ठ नागरिकलाई दिने उपचारमा छुटको सुविधा नपाएको गुनासो गरे । निःशुल्क उपचारको अपेक्षा गरेका मुगुका ज्येष्ठ नागरिक अस्पतालमा पुगेपछि कुनै पनि सेवा निःशुल्क नपाएको बताएका छन् । आर्थिक अवस्था न्यून भएका मुगुका नागरिकलाई सधैँ रोग र भोगले पिरोलि रहने गरेको छ । ‘श्रीमानको उपचार गर्दै गर्दा हजारौं रुपैयाँ सकियो । उपचार पनि भएको छैन ।श्रीमान अब भगवानको भरोसा मात्र भएका छन्,’ छायाँनाथ रारा नगरपालिका वडा नं ४ का धर्मदेवी भामको भनाइ छ ।
उनी मात्र होइन निःशुल्क उपचार पाउने विश्वासले अस्पताल पुग्ने ज्येष्ठ नागरिकहरु उपचारका लागि शुल्क तिर्न बाध्य छन् । सरकारले ज्येष्ठ नागरिक र अति विपन्नलाई निःशुल्क उपचारको घोषणा गरेपनि जिल्ला अस्पताल मुगुले भने सरल सेवामा अंकुश लगाएको स्थानीयको भनाइ छ । विभिन्न कागजात मागेर झन्झट दिने र उपचार सेवाबाट बन्चित गराइएको ज्येष्ठ नागरिकको गुनासो छ ।
जिल्ला अस्पताल मुगुमा ज्येष्ठ नागरिक र लक्षित वर्गलाई दुई प्रकारको बजेट आएको छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निशुःल्क गर्ने र ६० वर्ष देखि ६९ वर्षका नागरिक लाई परिचय पत्रको आधारमा ५०, ७० वर्ष देखि ७९ वर्ष लाई ७५ प्रतिशत र ८० वर्ष वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक लाई शत प्रतिशत उपचार दिएको स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख कमल ढुंगानाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्