जनता टाइम्स

१३ भाद्र २०७६, शुक्रबार १५:०३

अघि बढ्यो मिडिया काउन्सिल बिद्येयक : कुनै पनि विषयमा मिडिया ट्रायल हुन नदिने सञ्चारमन्त्रीको घोषणा


काठमाडौं, भदौ १३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने विषय मिडिया काउन्सिल विधेयकमा नरहेको प्रष्ट पार्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि विचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा सांसदरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले प्रेसलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले विधेयक ल्याएको प्रष्ट पार्नुभयो ।

‘लोकतन्त्र, गणतन्त्र स्थापित नहोस, भद्रगोल होस, प्रणालीले काम नगरोस भन्ने तहबाट हुने बाहय आक्रमणहरु र मिडिया आफै वहकिएर स्वतन्त्रताको नाममा स्वच्छन्दतालाई प्रेसको परिभाषाभित्र अनुबन्धित गरेर जान खोज्ने कुराले प्रेसको विश्वसनियतामाथि प्रश्न उठाएको छ,’ सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले सबै चुनौतिको सहज व्यवस्थापन गर्ने सोचमा रहेर विधेयकमा आवश्यक व्यवस्था गरिएको पनि उहाँको भनाई थियो । नागरिकले प्रेसप्रति विश्वास गर्ने दृष्टिले मर्यादा र सीमालाई सोचेर सरकारले विधेयकमा केही त्यस्ता व्यवस्था गरेको मन्त्री बाँसकोटाले बताउनुभयो ।

कारवाही प्रक्रियाको बारेमा उजुरी, जाँचबुझ, मिलापत्र, स्पष्टिकरण अनि क्षतिपूर्ति वा जरिवानाका विषय राखिएको भन्दै मन्त्री बाँस्कोटाले क्षतिपूर्ति र दण्ड जरिवानाका कुरालाई अदालति प्रक्रियामा लैजान सकिने बताउनु भयो । पत्रकारिता भन्दा पनि मिसनकारितामा मिडियाको दुरुपयोग बढ्दै गएको अचम्म–अचम्मका प्रवृति देखिएको भन्दै उहाँले स्वतन्त्र प्रेसको नाममा हुने लोकतन्त्रविरोधी कार्यलाई स्वीकार गर्न नसकिने प्रष्ट पार्नुभयो ।

‘जसलाई जे पनि भनेको छ । जे पनि आरोप लगाएको छ । जवाफदेहिता छैन । उत्तरदायित्व छैन । संविधान खारेज गरौँ । संशोधन, होइन खारेज । समाप्त गरौँ । अर्को चीज ल्याऔँ । यो पनि पत्रकारिता हो ?’ मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘यसलाई अलिकति नियन्त्रण गर्न खोज्यो भने प्रेस स्वतन्त्रतामाथि धावा बोल्ने ? यो त्यस्तो हो ? म सोध्न चाहन्छु । हिजो निरकुंशकालमा जय जय गान गाएर हिँड्ने त्यसको विषयमा केही बोल्न नसक्ने त्यसका विरुद्ध लडेर आएको शक्तिलाई चाहीँ आरोप । लोकतन्त्र लोकतान्त्रिक व्यवस्थाको रक्षाका निम्ति हो । त्यसको समाप्तिका लागि त्यो छुट दिन सकिन्न । सकिन्छ र ?’

तानाशाही व्यवस्थामा नबोल्नेले अहिले गणतन्त्र आफुले ल्याएको दाबी गर्दै त्यसविरुद्ध विभिन्न वक्तव्य बाजी गर्दै हिँडेकोमा पनि उहाँले आपत्ति जनाउनु भयो । राजतन्त्रका पक्षधरहरु प्रेस स्वतन्त्रताको नाममा लोकतान्त्रिक व्यवस्थालाई सिध्याएर पुनःस्थापित हुने प्रयास गरिरहेको उहाँको भनाई थियो ।  ‘ककहिले देश टुक्राउन आउ । कहिले गणतन्त्र समाप्त गर्न आउ । कहिले के गर्न आउ भनेर ओपन–ओपन च्यालेन्ज दिने डेमोक्रेशीलाई, गणतन्त्रलाई ? त्यो हेरेर बस्न सकिन्छ ? निरंकुशताको रहलपहलले आज पनि फणा उठाउन खोज्दैछ । के को नाममा, स्वतन्त्र प्रेसको नाममा । स्वतन्त्र प्रेस हिजो तिनले गर्याथे ? पञ्चायतको भक्तिभाव गर्याथे । निरंकुश राजतन्त्रको गाना बजाना गर्याथे, स्वतन्त्रता छ भन्ने नाममा जे पनि गर्याछ,’ मन्त्री बाँस्कोटाको भनाई थियो ।

उहाँले नेताहरुको मानमर्दन गरी स्थापित प्रणालीलाई नै समाप्त पार्ने विषयलाई स्वतन्त्र प्रेसको रुपमा परिभाषा गर्ने विषयमा सरकार सहमत हुन नसक्ने बटमलाइन पनि सुनाउनु भयो । अनुजा, भक्तमान, दिलशोभा लगायत प्रकरणबाट सरकार अनुशप्त रहेको स्मरण गराउँदै उहाँले कुनै पनि विषयमा मिडिया ट्रायल हुन नदिइने प्रष्ट पार्नुभयो । ‘अनुजा, भक्तमान, दिलशोभा प्रकरण हेरौँ न । अदालति काम प्रेसले गर्न सक्दैन । मिडिया ट्रयायल हुन सक्दैन । अदालती ट्रायल हुन्छ । पहिले नै राय दिएर समाजलाई दिग्भ्रमित बनाउने कुराले हो अराजकता र स्वच्छन्दता मौलाउने र स्वतन्त्रता र लोकतन्त्र अप्ठ्यारोमा पर्ने,’ उहाँको भनाई थियो ।

आमसञ्चारसम्बन्धि नियमन मात्रै गर्ने भएकाले यो विधेयकलाई सम्बृद्ध बनाउने सवालमा आएका सुझावलाई सरकारले समावेश गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनु भयो । छलफलपछि मिडिया काउन्सिल विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।