काठमाडौं, १८ जेठ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा बुधबार एक्सन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष आनन्दबहादुर चन्दले नेपाल सरकारको पछिल्लो कदम सुर्ती उद्योगीको पक्षमा स्पष्टसंग देखिएको बताउनुभयो । ‘एफसीटीसीलाई अनुमोदन गरेको सरकारले नारा हामीलाई खाद्यान्न चाहिन्छ सुर्तीजन्य पदार्थ होईन भन्ने तय गरेको छ तर दुई दिन अघि सरकारले सार्वजनिक गरेको बजेट बक्तव्यले खाद्यान्न महंगो सुर्तीजन्य पदार्थ सस्तो हुने देखाएको छ । यो आफैमा विवादास्पद छ,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार यसपटकको बजेटमा सरकारले सुर्तीजन्य पदार्थमा अत्यन्त न्यन २.५ देखि ४ प्रतिशतसम्म मात्रै बढाएको छ । जवकी मुद्रास्फिति दर ७.८ प्रतिशत पुगेको छ । ‘यसले सुर्तीजन्य पदार्थमा करको दर कम्तीमा ५ प्रतिशतले घट्ने देखिएको छ । यो हामी सबैका लागि लज्जाको विषय हो । उहाँले यसपटकको बजेटमा आएको करको दर पछिल्लो १० वर्ष यताकै न्युन भएको बताउनुभयो । उहाँले थप्नुभयो,‘यसलाई तत्काल सच्याउनु पर्छ । नेपालीको ज्यान बचाउन पर्छ ।’
चन्दले करको दर बढाउने भन्दै आउनुभएको स्वास्थ्य मन्त्रीको कुरा बजेट भाषणले उल्ट्याईदिएको भन्दै सरकारको भूमिकाप्रति शंका व्यक्त गर्नुभयो । ‘हाम्रो मन्त्री ज्यूले स्वदेशमा मात्रै होईन विश्व स्वास्थ्य संगठनको महासभामा गएर समेत विश्व जगतलाई करको दर भारी बृद्धि गर्छ भनेर आउनु भयो तर एक साता नपुग्दै भारी रुपमा कटौती गर्यो । यसले सरकारको विश्वसनीयतामा विश्व जगतले समेत प्रश्न उठाउने बाटो देखिएको छ,’ उहाँले थप्नुभयो ।
बार्षिक २७ हजार बढी नेपालीको ज्यान लैजाने सुर्तीजन्य पदार्थको प्रयोगलाई न्युनिकरण गर्न सरकारले करको दर बढाउनुपर्ने हुन्छ । करको दर बढ्दा मूल्य बढ्ने, सेवनदरमा कमी हुने र सुरुवात गर्नेहरुलाई समेत रोक्न सकिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्