जनता टाइम्स

२० जेष्ठ २०८०, शनिबार १२:२५

भारतमा भयानक रेल दुर्घटना, २ सय ३३ जनाको मृत्यु, ९ सय भन्दा बढी घाइते


काठमाडौं, २० जेठ । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी सेवाले जनाएको छ । हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको छ । साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो ।

ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्वीट गर्दै यस दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको बताउनुभएको छ । दुर्घटनामा परी करिब ९०० जना घाइते भएको बताइएको छ । भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुग्नुभएको छ । उहाँले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । यसका साथै उनले गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।