जनता टाइम्स

२१ जेष्ठ २०८०, आईतवार ०५:५७

होराइजन सेमिफाइनलमा


पाल्पा, २१ जेठ । कर्णेल उजिरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा स्याङजाको होराइजन फुटबल क्लब वालिङ विजयी भएको छ । वालिङले २८ बिघा युथ क्लब पूर्व नवलपरासीलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

तानसेन टुँडिखेलमा भएको खेलमा वालिङका लागि पहिलो हाफको पहिलो मिनेटमै विवेक चौधरीले गोल गरेर खेललाई अग्रता दिलाउनुभयो । नवलपरासीले २८औं मिनेटमा राज भुसालको गोलमा बराबरी गरेको थियो । त्यसपछि ५५औं मिनेटमा वालिङका विवेकले अर्को गोल गर्दै खेललाई २–१ मा पु¥याउनुभयो ।

आक्रामक र पटकपटक पोष्ट प्रहार गर्ने क्रममा वालिङका टेकराज गुरुङले ७५औं मिनेटमा गोल थपेर खेललाई बलियो स्थितिमा पु¥याउनुभयो । विवेक म्यान अफ द म्याच घोषित हुनुभयो ।

आइतबार रोड्स रामपुर चितवन र वीर गोर्खाली लखनउ भारतबीच तेस्रो क्वार्टर फाइनल खेल हुने आयोजक पाल्पा जिल्ला फुटबल संघका प्रचार प्रसार संयोजक करण चित्रकारले जानकारी दिनुभयो । जेठ २७ गतेसम्म चल्ने प्रतियोगिताका विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपियाँ पाउने एन्फा पाल्पाले जनाएको छ ।