जनता टाइम्स

२१ जेष्ठ २०८०, आईतवार १५:३०

राष्ट्रिय योजना आयोगले पायो पूर्णता


काठमाडौं, २१ जेठ । नवनियुक्त सदस्य अनिता शाह ढुङ्गानाले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । नवनियुक्त सदस्य ढुङ्गानाले आज आयोगका उपाध्यक्ष डा मिनहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको शपथ लिनुभयो । यही जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको महिला सदस्यका रुपमा ढुङ्गानालाई नियुक्त गरेको थियो ।

सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय ढुङ्गानासँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडिपी) मा समेत काम गरेको अनुभव छ । उहाँले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्वसमेत सम्हालिसक्नुभएको छ । यसअघि आयोगको सदस्यमा डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा आरपी विच्छा र डा. रमेश पौडेल नियुक्त भइसक्नुभएको छ ।

नवनियुक्त सदस्य ढुङ्गानाले आयोगमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाउनुभएको छ । यसअघि नियुक्त भइसक्नुभएका सदस्यमध्ये डा. फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्याङ्क साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको थियो भने डा. राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ ।

यसैगरी डा. बुढाथोकीलाई ऊर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै बागमती प्रदेश, डा. विच्छालाई स्वास्थ्य तथा जनसङ्ख्या, सङ्घीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा पौडेललाई शिक्षा, सहरी विकास, युवा तथा खेलकुद साथै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ ।