जनता टाइम्स

२२ जेष्ठ २०८०, सोमबार १३:४८

शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा, उक्त शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन


काठमाडौं, २२ जेठ । रास्वपा सांसद शिशिर खनालले भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भैंसी चढेर स्वदेश फर्र्र्किएको बताएपछि संसदमा हंगामा भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी दिनुभयो । यसपछि प्रश्नोत्तर कार्यक्रमअनुसार रास्वपा सांसद खनालले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट आउँदा पोखरा विमानस्थलमा अवतरण गर्नुहोला भनेको त भैंसी चढेर आउनु परेको भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमा आपत्ति जनाउनुभयो ।

उहाँले अमर्यादित शब्द रेकर्डबाट हटाउन माग गर्नुभयो । यसपछि एमालेसहितका सांसदहरु उठेर विरोध जनाएका थिए । यसपछि सत्तापक्ष र प्रतिपक्षी सांसदहरुले एकअर्काविरुद्ध हुटिङको शैलीमा प्रस्तुत भए । यसपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन संघीय संसद सचिवालयलाई निर्देशन दिनुभयो । यसपछि सत्तापक्षका सांसदले टेबुल ठोकेर स्वागत गरे भने प्रतिपक्षी सांसद आपत्ति जनाएका हुन् ।