जनता टाइम्स

२२ जेष्ठ २०८०, सोमबार २०:२५

पत्रकार महासंघमा सदस्यता शुद्धीकरणको प्रस्ताव मैले गरेको हुँ : अध्यक्ष गणेश बस्नेत


कास्की, २२ जेठ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासंघमा शुद्धिकरण अभियानको प्रस्ताव आफूले अघि सारेको बताउनुभएको छ । आज प्रेस चौतारी नेपाल कास्की शाखाको २५ औँ वार्षिक साधारण सभामा उहाँले यस्तो बताउनुभएको हो । उहाँले महासंघमा जो पनि सदस्य हुने कुराले महासंघको गरिमामा नै आँच आएको बताउनुभयो । सदस्यता शुद्धीकरण अभियानलाई निष्पक्ष ढङ्गले अघि बढाउन पनि उहाँले आग्रह गर्नुभयो । बस्नेतले विचार र आस्थाका आधारमा योग्य मान्छेलाई हटाउने र अयोग्यको सदस्यता कायम नै राख्ने काम भए प्रेस चौतारी नेपाललाई मान्य नहुने चेतावनी दिनुभयो ।

पत्रकार महासंघको शुद्धिकरण अभियान सफल गराउन प्रेस चौतारी नेपालले पूर्ण सहयोग गर्ने पनि बचन दिनुभयो । यसमा अन्य सङ्गठनहरूले पनि सघाउनु पर्ने उहाँको भनाइ थियो । कार्यक्रममा बोल्दै महासचिव हिरामान लामाले प्रेस चौतारी नेपाल क्रियाशील पत्रकारहरूको संगठन भएको बताउनुभयो । उहाँले चौतारीलाई क्रियाशील पत्रकारको संगठन बनाउन प्रेस चौतारी नेपालले आफ्नै संगठन भित्र पनि शुद्धिकरण, सुदृढीकरण, संगठन निर्माण र परिचालन अभियान चलाइरहेको बताउनुभयो ।

संगठन भित्र देखिएका समस्याको पहिचान गरी त्यसको समाधान पनि यहि अभियान भित्र गरिने बताउनुभयो । लामाले चौतारीको सदस्यलाई नयाँ प्रविधिको प्रयोगमा लाग्न पनि आग्रह गर्नुभयो । प्रविधिको पहिलो प्रयोग गर्ने पत्रकार हुनुपर्ने र त्यसमा पनि प्रेस चौतारीको सदस्य हुनु पर्नेमा उहाँले जोड दिनुभयो । साधारण सभामा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, सचिव सुष्मा पौडेल, केन्द्रीय सदस्यहरू, नेकपा एमालेका नेताहरू, पत्रकारका पेसागत संगठनका प्रमुख एवं प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।