जनता टाइम्स

२३ जेष्ठ २०८०, मंगलवार १३:४२

बागमती प्रदेशसभाका सांसदको लागि एमालेको अभिमुखीकरण कार्यक्रम सुरु


काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बागमती प्रदेश सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम काठमाडौंमा सुरु भएको छ । एमाले बागमती संसदीय दलले आफ्नो सांसदहरूलाई दुई दिने अभिमुखीकरण आयोजना गरेको हो । दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा एमाले बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले विषय वस्तुमाथि निर्देशन दिनुहुनेछ ।

कार्यक्रममा माधव पौडेलले कानुन निर्माणका प्रक्रियाहरू (विधेयक उत्पत्ति, छलफल र पारित) बारे प्रशिक्षण गराउनुहुनेछ । यसैगरी आजै, एमाले संसदीय दलको उपनेता सुवास नेवाङले संसदीय अभ्यास र सांसदहरूको भूमिका (संसद् सञ्चालन, परिचालन, मर्यादा) को विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

यसैगरी, भोलि एमाले नेता रमेश बडालले नेपालको संविधान २०७२ र प्रदेश सभाको भूमिका बारे प्रशिक्षण दिनुहुनेछ । भोलि समापन हुने कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीति र नेकपा एमाले सांसदहरुको भूमिकाबारे सम्बोधनसहित निर्देशनात्मक प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले बागमतीका सचेतक मधुसूदन पौडेलले जानकारी दिनुभयो ।