जनता टाइम्स

२४ जेष्ठ २०८०, बुधबार ०६:२९

जुडो टोली किर्गिस्तान जाने


काठमाडौं, २४ जेठ । एसिया ओपन बिस्केक जुडो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ५ सदस्यीय नेपाली जुडो टोली बुधबार किर्गिस्तानको बिस्केक प्रस्थान गर्ने भएको छ ।

जुन ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा समान १/१ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ७० केजीमुनि पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का पदक विजेता हुन् । सागमा इन्द्रले रजत तथा पुनमले स्वर्ण जितेका थिए ।

प्रशिक्षकमा पदमबहादुर बुढाथोकी तथा व्यवस्थापकमा नेपाल जुडो संघका सदस्य धर्मरत्न पछाईं रहेका छन् । नेपाल जुडो संघका अध्यक्ष एवं जेयुए एडुकेसन कोचिङका निर्देशक दीपकहर्ष वज्राचार्य पनि टोलीसंगै किर्गिस्तान जाँदैछन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।