जनता टाइम्स

२४ जेष्ठ २०८०, बुधबार १९:५१

कार्यबिभाजनप्रति गोकुल बास्कोटाको कडा आपत्ति, नेताहरु ‘अञ्चलाधीश’ बनेको आरोप


काठमाडौं, जेठ २४ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले कार्यबिभाजनप्रति कडा आपत्ति जनाउनु भएको छ ।

भर्खरै बसेको सचिवालय बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको कार्यबिभाजन गरी अन्तरपार्टी निर्देशन जारी गरेलगत्तै बास्कोटाले ‘अञ्चलाधीश’ बन्ने काम भएको भन्दै सामाजिक सञ्जालमै कडा आपत्ति जनाउनु भएको हो ।

कार्यबिभाजनमा बास्कोटाले यसअघि पाउनु भएको काभ्रे जिल्ला इञ्चार्ज र खेलकुद महासंघको इञ्चार्जबाट हेरफेर गरी सिन्धुपाल्चोक जिल्लाको इञ्चार्ज तोकिएको छ । बास्कोटाले सो निर्णयप्रति आपत्ति जनाउनु भएको हो । सचिवालय बैठकको निर्णयलाई बास्कोटाले गृह मन्त्रालयले सिडिओ सरुवा गरेझै गरिएको भन्दै आपत्ति जनाउनु भएको छ ।

बास्कोटाले ट्वीरमा लेख्नुभएको छ, ‘आफूलाई के मात्र ठान्छन हो कोही कोही त गृहले सिडिओ सरुवा गरेझै बहुदलीय राजनीतिमा मान्छेको सरुवा गर्न मिल्दैन नि।कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर । ऊखानै छ –एक दिनको पाहुना मीठोमीठो खा, दुई दिनको पाहुना जे सुकै खा,तीन दिनको पाहुना जतासुकै जा !! हुने त्यही हो,कुरा बुझे भैगो ।’

बास्कोटाले ट्वीटमा आएको प्रश्नको जवाफ दिँदै पुनः प्रतिक्रिया दिनुभएको छ, ‘अञ्चलाधिश बनेपछि भन्ने र गर्ने त्यही हो के को कडा ?’ उहाँले दुई हप्ता भए पो जाने भन्दै आपत्ति पनि जनाउनु भएको छ । बाँस्कोटाले आफूलाई खटाइएको जिल्ला सिन्धुपाल्चोक नजाने उदघोषसमेत गर्नुभएको छ । बास्कोटाले भन्नुभएको छ, ‘दुई हप्ता भए पो जानु ?’