जनता टाइम्स

२५ जेष्ठ २०८०, बिहीबार १९:२७

स्वास्थ्य मन्त्री बस्नेतले गरे हेटौंडा अस्पताल र मेडिकल स्टोर पथलैयाको आकस्मिक निरीक्षण


हेटौंडा, २५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आज हेटौंडा अस्पताल र बाराको पथलैयामा रहेको मेडिकल स्टोरको आकस्मिक निरीक्षण गर्नुभएको छ । काठमाडौंका सरकारी अस्पताल र केही निजी अस्पतालको निरीक्षण गरिसकेका मन्त्री बस्नेतले उपत्यका बाहिरका सरकारी र निजी अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिन र सेवा सुधार्ने उद्देश्य अनुसार आकस्मिक निरीक्षणमा निस्कनुभएको हो ।

हेटौंडा अस्पतालको आकस्मिक निरीक्षणको क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिनुभएको थियो । अस्पतालमा उपचाररत बिरामीसँग पनि मन्त्री बस्नेतले कुराकानी गर्नुभएको थियो । निरीक्षणपछि मन्त्री बस्नेतले देश भरिका अस्पतालले १० प्रतिशत सैय्या विपन्नका लागि छुट्याएर निस्शुल्क उपचार गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

देशका अधिकांश सरकारी अस्पतालले उपकरण किनेर प्रयोगमा नल्याउने र थन्क्याएर राख्ने प्रवृतिलाई निरुत्साहित गर्न स्वास्थ्य मन्त्रालयसँग समुन्वय नगरि नयाँ उपकरण खरिद नगर्न आफूले निर्देशन दिएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आवश्यकता र औचित्यताका आधारमा मात्र उपकरण किन्नु पर्छ ।’

जनताले गुणस्तरीय उपचार पाउनु पर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउदै मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्न आफू पछि नपर्ने दावी गर्नुभयो । कार्यक्रममा हेटौंडा अस्पतालका निर्देशक सहित चिकित्सकले अस्पतालले प्रदान गरिरहेको सेवाका बिषयमा जानकारी गराउनुभएको थियो ।

यसैगरि मन्त्री बस्नेतले पथलैयास्थित औषधि स्टोरको पनि निरिक्षण गरेर त्यहाँ रहेको औषधि र भण्डारणका बिषयमा जानकारी लिनुभएको थियो । सो अवसरमा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालगायत औषधि स्टोरका अधिकारीले मन्त्री बस्नेतलाई औषधि भण्डारणका बिषयमा जानकारी गराउनुभएको थियो ।