जनता टाइम्स

१४ भाद्र २०७६, शनिबार १६:१७

मन्त्री अर्यालको निश्कर्ष : सहकारी एक आपसमा ‘मर्ज’ हुनुको बिकल्प छैन


स्यांजा, भदौ १४ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई एक आपसमा गाभ्ने अभियानमा मन्त्रालय रहेको प्रष्ट पार्नुभएको छ ।

गृह जिल्ला स्यांजाको बिभिन्न कार्यक्रममा सहभागी हुन आउनु भएकी मन्त्री अर्यालले अब सहकारीका माध्यमबाटै रोजगारी र विकासको गतिलाई अगाडि बढाउने योजनामा सरकार रहेकाले पनि सहकारी एक आपसमा ‘मर्ज’ हुनुको विकल्प नरहेको प्रष्ट पार्नुभयो । ‘सहकारीको आफ्नै विकासको लागि पनि एक आपसमा मर्ज भएर सशक्त हुन जरुरी छ,’ स्याङ्जाको वालिङ– ९ मा रहेको कानुङ आँधिखोला बचत तथा ऋण सहकारी संस्थाको आज उद्घाटन गर्दै मन्त्री अर्यालले भन्नुभयो ।

विसं २०७५ फागुन ३ गतेबाट सञ्चालनमा आएको सहकारी संस्थामा २६९ जना शेयर सदस्य रहेको कानुङ सहकारीका अध्यक्ष उमेश दर्लामीले जानकारी दिनुभयो । रु एक करोड ८२ लाख ८४ हजार शेयर पूँजी रहेको सो सहकारीको रु तीन करोड ३८ लाख ३६ हजार ५१७ कारोवार रहेको उहाँले बताउनुभयो ।