जनता टाइम्स

२६ जेष्ठ २०८०, शुक्रबार १६:१५

कांग्रेस सुधार्न लागिपर्छु : कोइराला


काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सुधार्न लागिपर्ने प्रतिवद्धता जनाउनुभएको छ । चितवनको रत्ननगरमा आयोजित पार्टीको शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को ११ औँ महाधिवेशनको उद्घाटन समारोहमा उहाँले कांग्रेस सुधार्ने प्रतिवद्धता जनाउनुभएको हो ।

‘म आज यस सभालाई सम्बोधन गरिरहँदा यस संस्थासँग आवद्ध साथीहरुलाई विनम्रतापूर्वक अनुरोध गर्दछु। तपाईंहरु एकपटक चितवन कांग्रेसको अवस्थाबारे पनि बुझ्नुहोस्,’ कोइरालाले भन्नुभयो, ‘कहाँ कसरी के सुधार गर्नुपर्छ भनी साथीहरुसँग बृहत छलफल, बहस र अन्तक्रिया गरेर हामीलाई जानकारी दिनुहोस्। हामी सुध्रिन तयार छौँ । हामी कांग्रेस सुधार्न लागिपर्छौं । यो मेरो प्रतिबद्धता भयो ।’

नेपालको लोकतान्त्रिक आन्दोलनलाई मुलुकको मुख्य राजनीतिक भावधारासँग जोड्न आफूहरु एकाकार हुनुपरेको भन्दै उहाँले एक भएर मात्र अग्रजहरुले दिएको जिम्मेवारी पूरा गर्न सकिने बताउनुभयो ।

‘अझै पनि कैयन लोकतन्त्रवादी योद्धाहरु लोकतान्त्रिक आन्दोलनले बाटो बिरायो की भनी चिन्तग्रस्त भएर हामीसँग रुष्ट पनि हुनुहुन्छ होला, हामीसँग मन कुडिएको होला,’ कोइरालाले भन्नुभयो, ‘आज फेरी नेपालको लोकतान्त्रिक आन्दोलनलाई मुलुकको मुख्य राजनीतिक भावधारासँग जोड्न हामी एकाकार हुनुपरेको छ, हामी एक भएर मात्र हाम्रा अग्रजहरुले हामीलाई दिएको जिम्मेवारी पूरा गर्न सक्छौँ ।’

राजनीतिक संकट र निरंकुशताको समयमा कांग्रेस नेताहरु खरो रुपमा उत्रिए पनि पार्टीको सुरक्षा र सम्बर्धनमा चुकेका उहाँको भनाइ छ । ‘व्यवहारिक राजनीतिका नाममा कतिपय विषयमा आँखा चिम्लेका छौँ र पार्टीको विधान, नीति र नियमलाई मिचेर अगाडि बढेको छौँ,’ नेता कोइरालाले भन्नुभयो, ‘समष्टिमा भन्नु पर्दा हाम्रो यात्राको मिश्रित अनुभव छ ।’

पछिल्ला दिनमा विकसित राजनीतिले कांग्रेसको भविष्य के हुने भन्ने चासो बढेर गएको भन्दै उहाँले अहिले पार्टी सामु चुनौतीको चाङ रहेको बताउनुभयो । पार्टी अधिवेशन, स्थानीय निर्वाचन, आमनिर्वाचन र उपनिर्वाचनले आफूहरुलाई चुनौति र अवसर स्पष्ट गरिदिएको कोइरालाको भनाइ छ ।

‘हामी यतिबेला जनतासँग टाढिएका छौँ। यो दुःखद कुरा हो। जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता हो,’ उहाँले भन्नुभयो, ‘पार्टीको आन्तरिक सुशासन, लोकतन्त्रको स्थिति र हाम्रो जनताको बीचको स्थितिलाई सही ढंगले जोड्न सकेनौँ भने हामीले हाम्रो औचित्य गुमाउँदै जाने छौँ ।’