जनता टाइम्स

२० बैशाख २०७६, शुक्रबार १७:३४

सामाजिक सुरक्षा भत्ता बृद्धिको घोषणा, वर्षभित्र अतिक्रमित सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता ल्याउने अठोट


काठमाडौं, बैशाख २०

सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता बृद्धिको घोषणा गरेको छ । सरकारका तर्फबाट संसदमा राष्ट्रपति बिद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममै सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको हो ।

वृद्धभत्ता ५ हजार पुर्‍याउने चुनावी घोषणाका कारण दबावमा परेको सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने प्रतिवद्धता जनाएको हो । यसैगरी सरकारले सरकारले राजमार्गहरुलाई विमानको आपतकालीन अवतरणका लागि धावनमार्गका रुपमा विकास गर्ने घोषणा पनि गरेको छ । राजमार्गहरुलाई आपतकालीन धावनमार्गका रुपमा विकास गर्ने योजना नेपालमा पहिलो पटक आएको हो ।

पूर्व पश्चिम राजमार्गलाई ४ लेनको बनाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई २४ घण्टा नै सञ्चालनमा ल्याउने योजना पनि सरकारले अघि सारेको छ । यस्तै सन् २०१९भित्रै लुम्बिनिको निर्माणाधीन विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरिएको छ । यसैगरी सरकारले एक वर्षभित्र अतिक्रमित सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता ल्याउने घोषणा गरेको छ ।

प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवासकै जग्गा समेत व्यक्तिको नाममा गएको सार्वजनिक भइरहेका बेला सरकारले भने अतिक्रमित सार्वजनिक जग्गा एक वर्षभित्र सरकारको नाममा ल्याउने महत्वकाक्षी घोषणा गरेको हो ।