जनता टाइम्स

१५ भाद्र २०७६, आईतवार १०:०२

हतियारधारी डाका समुहले लुट्यो लाखौंको धनमाल, प्रतिकार गर्दा घरमूलीमाथि बञ्चरो प्रहार


महोत्तरी, भदौ १५ । महोत्तरीको मनरासिस्वा नगरपालिकामा गएराति हतियारीधारी डाकाको समूहले १० लाख रुपैया बढीको धनमाल डकैती गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीका अनुसार शनिबार मध्यराति आठ/नौ जनाको संख्यामा आएको हतियारधारी डाका समूहले मनरासिस्वा नपा–३ सोनौल गाउँमा दुई घरबाट लाखौंको धनमाल लुटेर लगेका हुन ।

एसपी अधिकारीका अनुसार आधा घण्टाको समयभित्र सोनौलका रामलोचन राउत र सियारामशरण राउतको घरबाट डाकाको समूहले नगद दुई लाख ५० हजार, ६ तोला सुनका गरगहना, ६० तोला चाँदीका गरगहना, मोबाइल तथा अन्य धनमाल गरी १० लाख बढीको धनमाल लुटेर लगेका हुन् । डाकाको प्रतिकारमा उत्रेका घरमूली रामलोचन राउतको बाँया खुट्टामा बञ्चरोले काटेर घाइतेसमेत बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

राति नै डकैतीको सूचना पाएलगत्तै प्रहरीचौकी इटहर्वाकट्टी र इलाका प्रहरी कार्यालय बलवाबाट प्रहरी टोली घटनास्थल पुगे पनि डाकाले सबैथोक लुटपाट गरेर भागिसकेका थिए । प्रहरीले डाका समुहको खोजी जारी राखेको बताएको छ ।