जनता टाइम्स

१५ भाद्र २०७६, आईतवार १०:२७

३८ लाख वर्ष अघि यस्ता थिए मानवका पूर्खा


एजेन्सी । इथियोपियामा ३८ लाख वर्ष अगाडिका मानवीय पुर्खाको पूरा खोपडी फेला परेको छ जसले मानव विकासको इतिहासबारे थाहा पाउने नयाँ अवसर दिलाएको बताइएको छ । वैज्ञानिकहरुले पहिलोपटक फेला पारिएको ‘अष्ट्रेलोपिथेकस एनामनेन्सीस’ मनाव प्रजातिको खोज उल्लेखनीय भएको बताइरहेका छन् ।

अनुसन्धानकर्ताहरुले यस खोज परियोजनामा पछिल्लो १५ वर्षदखि काम गरिरहेका थिए । यसबीच सन् २०१६ मा माथिल्लो बङ्गारा फेला परेको थियो र सो ठाउँमै १६ घण्टासम्म खोजी गरेपछि खोपडीका सबै अंश फेला पार्न सफल भएका हुन् । यस्तोमा बुधबार मात्र जर्नल नेचरमा यसबारे विस्तृत विश्लेषण प्रकाशित गरिएको हो ।

अध्ययनका लेखक एवम् क्लेभल्यान्ड म्युजियम अफ नेचुरल हिस्ट्रीका संरक्षक योहानेस हेले–सेलासी भन्छन्, “मैले मेरो आँखामा विश्वासै गर्न सकिनँ जब मैले क्रेनियमका बाँकी अंश भेट्टाएँ । त्यो अत्यन्तै यादगार र सपना पूरा भएजस्तो क्षण थियो । यो मान्छेको प्रजातिसम्बन्धी फेला पारिएको अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण अवेशश हो । ”

सो खोपडी ३९ देखि ४२ लाख वर्ष अगाडि बस्ने ‘अस्ट्रेलोपिथेकस एनामेन्सीस प्रजातिका मानिसको हो जसले नै हामीलाई अहिलेको मानव जिन ‘होमो’ प्रदान गरेको विश्वास गरिन्छ । सबैभन्दा सुरुवाती मानव पूर्खा मानिएको सो प्रजाति यसअघि फेला पारिएको अष्ट्रेलोपिथेकस एफेरेन्सीसको कंकालको पनि पुर्खा भएको बताइएको छ जसको नाम ‘लुसी’ राखिएको थियो । यस्तोमा त्यो समयमा पनि दुई फरक प्रजातिहरु एकसाथ जिवित रहेको नयाँ तथ्य पत्ता लागेको छ । नत्र यो भन्दा अगाडि एउटा प्रजाति लोपपछि मात्र त्यसको प्रतिस्थापन गर्न अर्को प्रजाति उत्पन्न हुने विश्वास गरिएको थियो । यस्तोमा भिन्दाभिन्दै समुहका मानव जातिहरु खाना, पानी लगायतका उपभोग्य वस्तुका लागि धेरैपटक एकअर्काको सामना गर्नुपरेको हुन सक्ने बताइएको छ । यसरी भिन्दाभिन्दै ऐतिहासिक प्रजातिहरुको शेषले होमो जातिको वृद्धिविकास कहाँबाट भएको हो भन्ने निर्धारित गर्न कठिन बनाइदिएको पनि वैज्ञानिकहरुको भनाइ छ ।

अहिले फेला परेको सबैभन्दा पुरानो पुर्खाको नाम अहिले एमआरडी’ राखिएको छ र यो एक वयश्क पुरुषको खोपडी भएको बताइएको छ । जसलाई मृत्युपछि नदि नजिकै गाडिएको हुन सक्ने अनुसन्धानकर्ताहरुको अनुमान छ । नदिकै किनारमा गुजारा गरिरहेको हुन सक्ने पनि बताइएको छ जुन कुनै समय रुखहरुले घेरिएको थियो । यसरी उक्त शेषबाट त्यो समयको वातावरणबारे पनि धेरै जानकारी प्राप्त गर्न सकिने हुँदा अध्ययनका अर्का लेखक नाओमी लेभनले आफूहरु थप अनुसन्धानका लागि अत्यन्तै उत्साहित रहेको बताएका हुन् । त्यसैबेलादेखि नै जलवायु परिवर्तनले मानव विकासमा प्रभाव पारिरहेको हुन सक्नेबारे उल्लेख्य जानकारी हासिल गर्न सकिने बताइएको छ ।

सो अवेशषबाट एमआरडीको अत्यन्तै सानो दिमाग रहेको देखिएको छ जुन अहिलेका आधुनिक मानवको भन्दा एक चौथाइ सानो आकारको छ । त्यसबेलादेखि नै अन्य जीवको तुलनामा मानव प्रजातिको शारीरिक बनोटमा धेरै परिवर्तन आउन सुरु भइसकेको निष्कर्ष पनि निकालिएको छ । यसरी एमआरडीलाई अहिलेसम्म जानकारी प्राप्त शेषहरुमा सबैभन्दा पुरानो मानव प्रजातिका रुपमा व्याख्या गरिएको छ । (द गार्जियनबाट)