महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपः नेपाल र भारत भिड्दै
हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपमा नेपालले आज भारत एसँग खेल्दैछ । आफ्नो दोस्रो खेलमा नेपालले भारत एसँग खेल्न लागेको हो । हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहान सवा ११ बजेटबाट शुरु हुनेछ । नेपालले पहिलो खेलमा पाकिस्तान एसँग झिनो अन्तरको हार व्यहोरेको थियो । भारतले भने घरेलु टोली हङकङलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।
विश्वकप छनोटः नेपाल र ओमान भिड्दै
नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज ओमानसँग खेल्दैछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बाबेको हरारेमा शुरु हुनेछ । पहिलो वार्मअप खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो भने पहिलो वार्मअप खेलमा ओमान घरेलु टोली जिम्बाबेसँग २८ रनले पराजित भएको थियो ।
फुटबलः नेपाल र फिलिपिन्स भिँड्दै
नेपाली राष्ट्रिय फुटबल टोलीले आज मैत्रीपूर्ण खेलमा फिलिपिन्सको सामना गर्दैछ । नेपालले घरेलु टोली फिलिपिन्ससँग रिजल मेमोरियल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४ः४५ बजेबाट प्रतिष्पर्धा शुरु गर्नेछ । नेपाल आज बलियो टोली फिलिपिन्सलाई हराउने योजनामा रहेको छ । भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले फिलिपिन्ससँग खेल्न लागेको हो । भारतको बेंगलुरुमा आयोजना हुने साफ असार ६ देखि १८ गतेसम्म हुनेछ ।
प्रश्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाई शुरु
संवैधानिक परिषद्बाट प्रश्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग संसदीय सुनुवाई समितिले छलफल शुरु गरेको छ । आज बिहान ८ बजे सिंहदरबारमा शुरु भएको हो । अहिले समितिले प्रश्तावित प्रधानन्यायाधीश कार्कीसँग छलफल गरिरहेको छ । गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो ।
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै
संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । आजको बैठकमा संसदमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत छलफल शुरु हुनेछ । बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ । यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
दुई संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । बैठक आज मध्यान्ह १ बजेबाट शुरु हुनेछन् । आज दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ भने अर्को बैठक विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।













प्रतिक्रिया दिनुहोस्