काठमाडौं, भदौ १५ । नेपाल राष्ट्र बैंकले बैंक खातामा रहेको पैसा कसैले पनि चोरी नगरेको प्रष्ट पारेको छ । शनिबार राति विभिन्न बैंकको एटिएमबाट ह्याकरले पैसा निकालेको समाचार सार्वजनिक भएपछि सर्वसाधारण आतंकित भएलगत्तै राष्ट्र बैंकले खातामा रहेको पैसा सुरक्षित रहेको बताएको हो ।
एटीएम ह्याक गरी ठुलो परिमाणमा रकम निकालेको सूचना सार्वजनिक भएपछि कतै आफ्नो खाताबाट पनि रकम हराएको त छैन भन्ने डर सर्वसाधारणमा रहेको थियो । सर्वसाधरणको यो आशंकालाई राष्ट्र बैंकले सम्बोधन गरेको हो । राष्ट्र बैंकले कुनै पनि खाताबाट रकम नझिकिएको प्रष्ट पार्दै सर्वसाधारणलाई आतंकित नहुन आग्रह गरेको छ । ‘केही बैंकको एटिएमको सिस्टममा समस्या आएको छ, एटिएमबाट पैसा निकाल्न मिलेको छैन । तर, कुनै पनि बैंक खाताबाट गैह्र कानुनी रुपमा पैसा निकालिएको छैन,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भन्नुभयो, ‘ढुक्क हुनुस, तपाईंको खाताको पैसा सुरक्षित छ । ’
चिनिया ह्याकरले एटिएमको पैसा झिके पनि व्याक्तिगत खाताबाट भने पैसा ननिकालिएको निरौलाले प्रष्ट पार्नुभयो । एक दर्जन भन्दा बढी बैंकको एटिएम मेसिन नचलेपछि नेपाल राष्ट्र बैंक र नेपाल इलेक्टोनिक पेमेन्स सिस्टम (नेप्स) लिमिटेड बीच समस्याको विषयमा छलफल भइरहेको छ । सिस्टममा समस्या हुनुको आधिकारीक जानकारी नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सुरक्षा निकायले भने सिस्टम ह्याक गरेका कारण एटिएम मेसिन नचलेको बताएका छन । प्रहरी उच्च स्रोतका अनुसार शनिबार राति एटिएमबाट पैसा निकाल्दा निकाल्दै पक्राउ परेका चिनियाँ नगरिकको समूहकै कारण सिस्टममा समस्या आएको हो ।
यसअघि प्रहरीले एटिएम ह्याक गरी पैसा निकाल्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बेला प्रहरीले बिशेष सूचनाको आधारमा चिनिया ह्याकरलाई पक्राउ गरी ठुलो जोखिम रोकको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्ने उनीहरूलाई दरबारमार्गस्थित एक होटलबाट पक्राउ गरेको थियो ।
काठमाडौं परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरेको छ । प्रहरीका अनुसार नबिल बैङ्कको एटिएमबाट पैसा निकाल्दै गरेको अवस्थामा पक्राउ परेका एक चिनिया नागरिकमाथि अनुसन्धान गर्दा अन्य ४ जनाको पनि संलग्ता भएको खुलेको थियो । एटीएम ह्याकबारे राष्ट्र बैंकले अनुसन्धानसमेत अघि बढाएको छ । राष्ट्र बैंकका प्रवक्ता निरौलाले राष्ट्र बैंकले अनुसन्धान थालेको जानकारी निुभएको हो ।
‘हामी यो विषयमा अनुसन्धान थालिसकेका छौं,’ प्रवक्ता निरौलाले भन्नुभयो, ‘अहिलेसम्म बैंकको सिस्टममा खतरा पुगेको छैन, एटीएम मेसिनको सफ्टवेयरमा मात्र ह्याकरले आक्रमण गरेका हुन ।’ निरौलाका अनुसार राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले साँझसम्म छानबिनको प्रारम्भिक निष्कर्ष ल्याउने छ । ‘बैंकहरूका सिस्टम सुरक्षित छन, एटीएमको सफ्टवेयरमा आक्रमण हो, बैंकको सिस्टममा होइन,’ निरौलाले भन्नुभयो । चिनियाँ गिरोहले योजनाबद्ध तवरले एटीएम ह्याक गरेर पैसा लुट्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्