जनता टाइम्स

१५ भाद्र २०७६, आईतवार १९:१४

अब जिवित कुमारीको मासिक भत्ता ५० हजार, पूर्वगणेश र पूर्वभैरवको पनि बढ्यो भत्ता


काठमाडौं, भदौ १५ । काठमाडौँ महानगरपालिकाले पूर्वकुमारी, पूर्वभैरव र पूर्वगणेशलाई दिदैँ आएको मासिक भत्तामा वृद्धि गरेको छ । त्यसैगरी जिवित कुमारी र जिवित कुमारीको स्याहार–सुसार गर्ने चिताइदाराको पनि मासिक भत्तामा महानगरपालिकाले बृद्धि गरेको छ ।

राजधानीमा आज आयोजित पूर्वकुमारी, पूर्वभैरव र पूर्व गणेशश्रीपद भत्ता वितरण तथा इन्द्रजात्रा व्यवस्थापन समितिलाई अनुदान दिन आयोजना गरेको कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्तो घोषण गर्दै भत्ता समेत वितरण गर्नुभएको हो । अब हरेक महिना पूर्व कुमारीले १५ र पूर्व गणेश र पूर्व भैरवले १२–१२ हजार प्राप्त गर्नेछन् । पूर्वकुमारी र चिताइदारले भने १५–१५ हजार प्राप्त गर्नेछन् । यस अघिसम्म पूर्व भैरव र गणेशले ८–८ हजार र पूर्व कुमारी र चिताइदारले १०–१० हजार प्राप्त गर्दै आएका थिए । त्यसैगरी जिवित कुमारी र चिताइदारले २५–२५ हजार प्राप्त गर्दै आएका थिए । अब उनीहरुले ५०–५० हजार प्राप्त गर्नेछन् । पूर्व कुमारी ९, पूर्व गणेश ६ र पूर्वभैरव ७ जना छन् ।

त्यसैगरी काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रा व्यवस्थापन समितिलाई १३ लाख ९३ हजार सात सय रुपैयाँको चेक हस्तान्तरण गरेको छ । महानगरपालिकाले सो समितलाई २०७५ सालको रकम हस्तान्तरण गरेको हो । यो वर्षदेखि करीब २४ लाख रुपयौँ सहयोग गर्ने महानगरपालिकाले प्रतिवद्धता व्यक्त गरेको छ । ०७५ साल अघिसम्म इन्द्रजात्राका लागि केन्द्र सरकारले १४ लाख र महानगरपालिकाले १० लाख सहयोग गर्दै आएको थियो । अब सबै रकम महानगपालिकाले नै सहयोग गर्ने छ ।

त्यसैगरी इन्द्रजात्रा सञ्चालनका लागि आगामी वर्षदेखि कोष स्थापना गर्ने र त्यसैबाट जात्रा सम्पन्न गर्ने समेत तयारी गरेको महानगरपालिकाले जानकारी दिएको छ । संस्कृति तथा पर्यटन मन्त्रालयबाट २ करोड, महानगरपालिकाबाट २ करोड र गुठी संस्थानबाट एक करोड जम्मा गरी पाँच करोडको अक्षयकोष स्थापना गर्ने विषयमा समेत छलफल अघि बढेको भन्दै मेयर शाक्यले यसका लागि कार्यविधि बनाएर छिट्टै कोषको स्थापना गर्ने बताउनुभयो । कोष स्थापना गर्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी समेत सकारात्मक रहेको उहाँको भनाई थियो ।

भत्ता दिइएको पूर्व गणेशः गणेश शाक्य, पुरुषोतम शाक्य, कन्हैया शाक्य, सञ्जु शाक्य, प्रनवराज शाक्य, कपिलरत्न शाक्य हुनुहुन्छ भने पूर्व कुमारमा इन्द्रबहादुर शाक्य, शुभरत्न शाक्य, दिपक शाक्य, बाल पुरुषोतम शाक्य, श्याम शाक्य, भैरव शाक्य र राजु शाक्य हुनुहुन्छ । त्यसैगरी पूर्व कुमारीमा नानीशोभा शाक्य, हर्षलक्ष्मी शाक्य, नानमैया शाक्य, सुनिता शाक्य, अनिता शाक्य, रश्मिला शाक्य, अमिता शाक्य, प्रिति शाक्य, मनिता शाक्य हुनुहुन्छ ।