काठमाडौं, ८ असार । सत्तारुढ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालय विघटन गर्न सुझाव दिनुभएको छ ।
‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’ का लागि एक जना सांसदले गरेको प्रश्नको जवाफसमेत तयार गरिदिन नसक्ने प्रधानमन्त्रीको सचिवालय आवश्यक नभएको उहाँको टिप्पणी थियो । आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री प्रचण्डको सचिवालय अस्तव्यस्त रहेको दाबीसमेत गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले आफूमा शक्ति केन्द्रित हुने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत निकायलाई कायमै राखेकोमा पनि उपाध्यक्ष पाण्डेले आपत्ति जनाउनुभयो । उपाध्यक्ष पाण्डेले सरकारले ल्याएको बजेट सन्तुलित नभएको भन्दै असन्तुष्टिसमेत जनाउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्