जनता टाइम्स

१६ भाद्र २०७६, सोमबार ०८:३०

वाह ! पन्ध्र मिनेटमै पशुपतिनाथको दर्शन, यसरी लाइन बस्दा चाँडो पुगिन्छ मन्दिर


काठमाडौं, भदौं १५ । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनले पन्ध्र मिनेटमै पशुपतिको दर्शन गर्न पाएका छन । आज बिहानै पशुपति मन्दिर गएका महिलाहरुले लाइन बसेको १५ मिनेटमै दर्शन गर्न पाएका हुन ।

‘अचम्मै भयो, यो पाली त १५ मिनेटमै दर्शन गर्न पाइयो,’ पशुपतिको दर्शन गरी फर्केका एक महिलाको भनाई थियो । भक्तजनका सुबिधाको लागि पशुपति क्षेत्र बिकाश का्षले गरेको ब्यवस्थाका कारण उनीहरुले लाइन लाइन बसेर पनि १५ मिनेटमै दर्शन गर्न पाएका हुन । पशुपति क्षेत्र बिकाश कोषले आज बढीमा दुई घन्टाभित्र दर्शन गर्न सक्ने गरी लाइनको ब्यवस्था गरेको छ । पशुपति क्षेत्र विकास कोषले तीजमा आउने भक्तजनको सुबिधालाई मध्यनजर गरी यस्तो ब्यवस्था मिलाएको हो ।

कोषले जनाएअनुसार तीजको दिन मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट रहेको छ भने दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताउनु भयो ।

यसैगरी तेस्रो लाम एयरपोर्टतर्फबाट–पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशालातर्फबाट पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीका अनुसार वैकल्पिकरूपमा विसं २०६५ देखि भक्तजनका लागि बन्द गरिएको पूर्वी ढोका पनि उपयोग गर्न लागिएको छ ।
कोषले लामो समयदेखि पूर्वी ढोका पशुपतिनाथ मन्दिरमा जल ल्याउन मात्र उपयोग गर्दै आएको थियो ।

तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले पूर्वी मूल ढोकालाई वैकल्पिकरूपमा उपयोग गर्न लागिएको उप्रेतीले बताउनु भयो । तीज, बालाचतुर्दशी, महाशिवरात्रि, साउनको सोमबार जस्ता बढी भीड हुने पर्वमा पूर्वी ढोका खुला नगर्दा धेरै समय लाममा बस्नु परेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले यस्तो व्यवस्था गरेको हो । भाद्र शुक्ल तृतीयाका दिन आज पशुपति मन्दिर प्रवेश गरी बढीमा दुई घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लामको व्यवस्था गरिएको हो । सामान्यतया आधा घण्टामा भक्तजनले दर्शन गरिसक्ने गरी स्वयंसेवकलगायत सुरक्षाकर्मी र कर्मचारीलाई परिचालन गरिएको छ ।

नेपाल प्रहरीसँगको समन्वयमा पशुपति क्षेत्रमा तीज पर्वलाई ध्यान दिँदै शनिबारदेखि सादा पोशाकका प्रहरी खटाइएको छ भने मेला अवधिभर चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटिनेछन । शान्तिसुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा बहुमूल्य गरगहना नलगाई आउन कोषले भक्तजनमा आह्वान गरेको छ । पशुपति परिसरमा कम्तीमा पनि सात लाख दर्शनार्थी प्रवेश गर्ने प्रारम्भिक अनुमान गरिएकाले बहुमूल्य सामग्री घरमै राखी दर्शनमा आउन अनुरोध गरिएको छ । साना बालबालिकालाई मन्दिरमा नल्याउन पनि अनुरोध गरिएको छ ।

पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ । सरकारी नम्बर प्लेटका सवारीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभाग एवं अन्यत्रका स्थलमा बाँकी सवारी पार्किङ गर्ने प्रबन्ध गरिएको छ । जुत्ता–चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाग्मतीपारि राममन्दिरको मुनि लगायत स्थान छुट्याइएको छ । नाचगान एवं भक्ति सङ्गीत प्रस्तुतिका लागि हंशमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी, मित्रपार्क तोकिएको छ ।

सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक बन्द नगर्ने गरी व्यवस्थापन गरिएको छ ।