जनता टाइम्स

१६ भाद्र २०७६, सोमबार ०९:३३

एटिएम लुट प्रकरण : नेपालीले नै सहयोग गरेको प्रहरी आशंका


उनिहरु पुन: अर्को काण्ड मच्चाउन नेपाल आउने योजनामा रहेको पनि खुलेको छ

काठमाडौं, भदौ १६

नेपालको बैंकका एटिएम ह्याक गरेर लुट्न चिनियाँहरुलाई नेपाली नै सहयोग गरेको आशंका प्रहरीले गरेको छ । नेपालीको संलग्नता विना यो काम हुन नसक्ने भन्दै प्रहरीले अनुसन्धानलाई तिव्रता दिएको छ ।

शुक्रबार नेपाल आएका चिनियाँहरुले सरासर होटल गएर शनिवार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म एटिएम बुथ लुट्दै हिँडेका थिए। उनीहरुले कुन बैंकको एटिएम कहाँ छ ? होटलसम्म पैसा पुर्याउन कति समय लाग्छ ? भन्ने सबै अध्ययन गरेर आएको अनुसन्धान अधिकारीले जानकारी दिएका छन् । उनिहरुका अनुसार केही घण्टा ढिलो भएको भए उनिहरु पुन अर्को काण्ड मच्चाउन नेपाल आउने योजनामा रहेको पनि खुलेको छ ।

पक्राउ परेका पाँच चिनियाँ नागरिकहरुको विच्याटमा भएको कुराकानी अध्ययन गर्दा उनीहरु १० प्रतिशत कमिशनका लागि नेपाल आएर पैसा लुट्दै हिँडेका थिए। उनीहरुले लुटेको पैसाको १० प्रतिशत कमिसन पाउँथे। उनीहरुले लुटेको पैसा चिनमा चल्दैन। त्यसैले उनीहरुले नेपालीलाई चिनियाँ वा परिवर्त्य विदेशी मुद्रामा सटही गर्नु पर्छ। उनीहरुले लुटेको पैसा एकै पटक सटही गर्न संभव छैन।

त्यसैले यहाँ कोही नेपालीलाई जिम्मा लगाएर उनीहरु आइतबार चिन फर्किने योजनामा रहेको हुन सक्ने अनुसन्धानरत एक अधिकारीले भने । ‘अर्काको देशमा आएर यस्तो खालको हाइटेक फ्रड गर्न सजिलो छैन। त्यसैले यहाँ नेपालीको संलग्नता पनि आशङ्का गरिएको छ’, ती अधिकारीले भने, ‘फोरेन्सिक टिम ल्याएर जाँच्ने काम सुरु भएको छ। केही दिनमा सबै कुरा थाहा हुन्छ ।