जनता टाइम्स

१३ असार २०८०, बुधबार १४:२४

लागुऔषधसहित सातजना पक्राउ


काठमाडौं, १३ असार । देशका विभिन्न स्थानबाट लागुऔषधसहित सातजना पक्राउ परेका छन् । धनकुटाको धनकुटा नगरपालिका–९ बेलहारा घर भई सोही नगरपालिका-७ डेरा गरी बस्ने २४ वर्षीय सुनिल श्रेष्ठ समेत ४ जनालाई अवैध लागूऔषध गाँजा १ केजी, स्पास्पेन ४ हजार ८ सय ५० क्याप्सुल र ट्रामोल ४ हजार ८ सय ५० क्याप्सुलसहित प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले आफ्नो कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले जाँच गर्दा श्रेष्ठको कोठाबाट उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । जुम्लाको चन्दननाथ नगरपालिका–५ कार्कीवाडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही नगरपालिका–२ बस्ने २२ वर्षीय मदन भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

भण्डारीले लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्ला र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ ऐरिचोकस्थित आचार्य चिया पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोही नगरपालिका–९ लाटिकोईली बस्ने २५ वर्षीय देबु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पसलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भण्डारीलाई साथमा रहेको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । पर्साको बहुदरमाई नगरपालिका–४ जसौली चाईनिज पुलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित वीरगञ्ज महानगरपालिका–२६ सुगौलिबिर्ता बस्ने ५७ कृष्ण मुरारी पटेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डकैलाबाट खटिएको प्रहरीले साइकलमा आएका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।