जनता टाइम्स

१४ असार २०८०, बिहीबार १५:५१

कोसीमा निर्णायक जसपा तटस्थ बस्ने, पक्ष-बिपक्षमा मतदान नगर्न सांसद निर्मला लिम्बुलाई निर्देशन


विराटनगर, असार १४ । जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय गरेको छ। पार्टीका कोसी प्रदेश अध्यक्ष दिपक याख्याको अध्यक्षतामा बैठकले सो निर्णय गरेको हो ।

बैठकले मत नदिने निर्णय गरी सोहीअनुरुप आफ्नो सांसद निर्मला लिम्बुलाई निर्देशन दिएको छ पार्टीका राजनीकि सल्लाहकार तथा कोसी प्रदेशसभाका पूर्व सदस्य जयराम यादवले सत्तासीन एमाले र गठबन्धनका कांग्रेस तथा माओवादी कोसी नामांकनको विषयमा एकै ठाउँमा रहेकाले पक्ष र विपक्षमा मत नदिने निर्णय भएको जानकारी दिनुभयो।

कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने कार्यसूची छ। जसपाले कोसी प्रदेशको नाम खारेजी र पहिचानलाई सम्बोधन गरी पुन नामकारण गर्नुपर्ने शर्त अगाडि सारेको छ। पहिचानको आन्दोलनलाई समर्थन गरेरै आफूहरू सरकारबाट बाहिरिएको जसपाले जनाएको छ।

‘यस प्रदेशका रैथाने पहिचानहरुलाई समाप्त पार्ने षड्यन्त्र गरी प्रदेश नम्बर १ को नामाकरण जालसझेलपूर्ण तरिकाले कोशी राख्ने र त्यसविरुद्ध पहिचान पक्षधर न्यायप्रेमी जनताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि समेत बर्बर दमन गर्ने एमाले नेतृत्वको हिक्मत कार्की सरकारलाई हामीले दिएको समर्थन गत जेठ १६ गते नै फिता लिइसकेका छौं। वर्तमान राजनीतिक परिस्थितिमा जसपा एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिने पक्षमा हुने करै भएन,’ विज्ञप्तिमा भनिएको छ, ‘पहिचानको मागलाई नजरअन्दाज गरेर कोसी नामाकरणको पक्षमा मतदान गर्ने दलहरूप्रति पनि हामी विश्वस्त हुनसक्ने कुनै राजनीतिक आधार देखा परेको छैन। कोसी नाम खारेजी र पहिचानलाई सम्बोधन गरी पुनः नामाकरण गरिनु पर्दछ भन्ने हाम्रो पार्टीको माग यथावत छ।’