काठमाडौं, १४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्कृति र सभ्यताको जग बसाल्ने देशले प्रोफेसर कुट्ने विद्यार्थीमाथिको मुद्दा फिर्ता लिनु दूभाग्यपूर्ण रहेको बताउनुभएको छ । आज बिहीबार मदन भण्डारी मेमोरियल कलेजले २२औं वार्षीक उत्सवलाई सम्बोधन गर्दै उहाँले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेविरूद्ध मुद्दा फिर्ता लिएकोप्रति आपत्ति जनाउनुभएको हो ।
‘बडा दुःखद् कुरा हो, हाम्रोजस्तो सभ्यता बसाल्ने देश, गुरू देवो भवः भन्ने देश, गुरूको ढाड खुस्क्याउँछ, टाउको फुटाउँछ, करङ भाँच्दिन्छ, बहादुरी देखाउँछ । त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता लिन्छ । प्रोफेसर कुट्न किन पाइँदैन ? मज्जाले पाइन्छ भनेर,’ उहाँले भन्नुभयो,‘गुरू हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो खालको रहेछ, हाम्रो खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार । मुद्दा फिर्ता लिन्छ ।’
उहाँले त्यस्ता व्यक्ति विद्यार्थीको नाम मात्रका भएका र असली विद्यार्थी पनि नभएको बताउनुभयो । ‘त्यसमा पनि विद्यार्थी नाम मात्रका हुन्छन्, विद्यार्थी होइनन् । बाहिर सडकका हुन् । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्छ,’ उहाँले थप्नुभयो । सरकारको काम खेदजनक रहेको बताउँदै उहाँले गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद् भएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्