जनता टाइम्स

१७ भाद्र २०७६, मंगलवार ०७:५०

काठमाडौंको टोखामा सेतो काग भेटिएपछि…


काठमाडौं, भदौ १७ । काग भन्न साथ कालो रंग भन्ने बुझिन्छ । कागलाई कालोबाहेकको रङमा कल्पना गर्नेहरु समाजमा विरलै भुटिन्छन । हाम्रा वरपर पाइने काग निख्खर कालो र कालो खरानी रङकै हुने भएकाले पनि यीभन्दा पृथक रङका हुनसक्छन् भन्ने कसैले पत्याउन गाह्रो हुन्छ । तर काठमाडौंको टोखामा सेतो काग भेटिएपछि काग कालो रंगको मात्र हुन्छ भन्ने भ्रम तोडिएको छ ।

चराविद मोहनविक्रम श्रेष्ठ, पूर्णमान श्रेष्ठ, आनन्दकुमार श्रेष्ठ र सुवर्ण घिमिरेको टोलीले शनिबार टोखाको ठूलो लाछीमा सेतो काग फेला पारेको हो । टोखावासीका अनुसार उक्त सेतो काग ४–५ वर्षदेखि काब्रोको रूखमा गुँड बनाएर बस्दै आएको छ । स्थानीयले त्यसलाई पहिचान गर्न सकेका थिएनन । ‘स्थानीय बूढापाकाले पहिले नै देखेका रहेछन,’ चरा अनुगमन र संरक्षण शिक्षामा काम गर्दै आउनुभएका आनन्दकुमार श्रेष्ठले भन्नुभयो, ‘सेतो कागको पहिलो पटक तस्बिर खिच्न सफल भएका छौं ।’

केहीअघि कीर्तिपुरमा सेतो काग भेटिएको थियो । टोखामा भेटिएको सेतो कागको प्वाँख सेतो भए पनि ठुँड, आँखा र खुट्टाका नङ्ग्रा भने काला छन् । यसको आनीबानी र आहारा भने कालो कागको जस्तै छ। चराविद्हरूका अनुसार उत्परिवर्तन भएर कागको रङ सेतो भएको हो। वंशाणुगत गुणमा अचानक आउने परिवर्तनलाई उत्परिवर्तन भनिन्छ ।

‘पृथ्वीमा उत्पन्न विभिन्न कारणले वंशाणुगत गुण नै बदलिएर रङ फेरिएको हुनसक्छ,’ उहाँले भन्नुभयो, ‘यसबारे विस्तृत अध्ययन गर्नु आवश्यक देखिएको छ ।’ सेतो काग नेपालका अन्य स्थानमा रेकर्ड भएको छैन ।